काठमाडौं– सरकारले बिदा स्वीकृत नगराउने तीन डाक्टरलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले डाक्टरलाई स्पष्टिकरण सोध्ने निर्णय भएको जानकारी दिएका हुन्।
बिदा स्वीकृत नगराई आफ्नो कार्यालयमा अनुपस्थित डा. सर्जन ढुंण्डिराज पौडेल, अर्थोपेडिक सर्जन राजेन्द्र सञ्जेल क्षेत्री र विष्णुकुमार पौडेललाई स्पष्टिकरण सोध्ने निर्णय सरकारले गरेको हो।
११ तहका प्रमुख कन्सल्टेन्ट इएनटी सर्जन ढुंण्डिराज नेपाल चिकित्सक संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन्। प्रमुख कन्सल्टेन्ट डा. क्षेत्री अर्थोपेडिक सर्जन हुन् भने प्रमुख कन्सल्टेन्ट पौडेल फिजिसियन हुन्।
सरकारले उनीहरुलाई नेपाल स्वास्थ्य सेवा ऐन २०५३ र नियमावली २०५५ बमोजिम स्पष्टिकरण सोध्ने निर्णय गरेको हो। उनीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमार्फत् स्पष्टिकरण सोध्ने निर्णय भएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए।