पोखरा - गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको बताएका छन्। पोखरा महानगरपालिका–१३ स्थित बेसलाईन बोर्डिङ स्कुलको २२ औंँ वार्षिकोत्सव एवं पुरस्कार वितरण कार्यक्रममा उहाँले दक्ष तथा सीपमूलक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए।
उनले गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, अभिभावक र शिक्षकको सामूहिक प्रयासको खाँचो औल्याए। उपसभामुख शर्माले प्रदेश सरकारले विज्ञ समूहबीच छलफल गरी आवश्यक सुझाव र सल्लाहअनुसार शिक्षानीति तयार गर्नुपर्ने उल्लेख गर्दै व्यावहारिक एवं प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने बताए।
विद्यालयका प्रबन्ध निर्देशक षडानन्द गौतम, जिल्ला शिक्षा समन्वय प्रमुख नारायणप्रसाद सुवेदीलगायतले शिक्षाको महत्वमाथि प्रकाश पार्नुभएको थियो। कक्षागत एवं अतिरिक्त क्रियाकलापमा विजयी छात्रछात्रालाई पुरस्कार वितरण गरिएको कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। रासस