काठमाडौं– प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित भएकाे छ। नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद सचिवालयले जनाएको छ।
राष्ट्रियसभा सदस्य उपाध्यायको निधन भएको भन्दै कांग्रेसले सम्बोधन स्थगित गर्न माग गरेको थियाे। क्यान्सरबाट पीडित राष्ट्रियसभा सदस्य उपाध्यायको रुपन्देहीमा शुक्रबार बिहान निधन भएकाे थियाे।
शोकका कारण सदन स्थगित गर्न माग गर्दै कांग्रेस सचेतक पुष्पा भुसाल संसद सचिवालयमा पुगेकी थिइन्। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धीबारे आज प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची थियाे।