काठमाडौं– कुवेतको एक निर्माणस्थलमा दुर्घटना हुँदा ६ जना नेपालीहरुको मृत्यु भएको २ जना घाइते भएको बारेमा छानबिन गरी यथार्थ जानकारी गराउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ।
गत माघ २९ गते निर्माणस्थलमा ढुंगासहितको ढिस्कोले पुरिँदा ६ जनाको मृत्यु भएको र २ जना घाइते घटनाको बारेमा यथार्थ जानकारी दिन भन्दै आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्राचारसमेत गरेको छ।
घटनामा घाइते भएकाहरुको प्रभावकारी र निःशुल्क उपचार गर्न, आवश्यक राहत, क्षतिपूर्ति उपलब्ध गाराउनसमेत आयोगले आग्रह गरेको छ। साथै आयोगले वैदेशिक रोजगारीमा गएका कामदारहरुको सुरक्षा तथा उनीहरुको मानव अधिकारको सुनिश्चितताको लागि दीर्घकालीन कार्ययोजना र नीति बनाएर आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।