विराटनगर– प्रदेश नं. १ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले विकास र वातावरणलाई समानान्तर रुपमा अगाडि बढाउने बताएको छ। प्रदेशसभाको आज बसेको बैठकमा ‘प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिदैं उनले सो कुरा बताएको हो।
मन्त्री कुसियतले यो हावा, पानी र माटोसँग जोडिएकाले विधेयकमा सदस्यहरुले दिएको सुझावलाई ग्रहण गर्ने बताउँदै विधेयकमा छुटेका विषयलाई परिमार्जन गरेर समावेश गर्ने जानकारी दिए। प्रदेशको सिमसार क्षेत्रलाई संरक्षण गर्न विधेयक फलदायी हुने विश्वास व्यक्त गर्दै उनले सदस्यहरुले उठाएका कतिपय विषयलाई वन विधेयकले परिपूर्ति गर्ने र बाँकी बिषय विधेयकमा समावेश गर्ने बताएका छन्।
‘प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथा तत्सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ। प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सो विधेयक मन्त्री कुसियतले सभामा पेश गरेको थियो।
सैद्धान्तिक छलफल
प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथा तत्सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयक माथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य इन्दिरा राईले फर्म दर्ता वा नवीकरण सम्बन्धमा विधेयकले विदेशी नागरिक वा कम्पनीलाई पनि समेट्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
सदस्य प्रताप प्रकाश हाङ्गामले फर्म दर्ता वा नवीकरण गर्दा त्यसको पूँजीको पनि लेखा जोखा हुनुपर्ने भन्दै काम नलाग्ने जग्गा देखाएर सुविधाजनक क्रृण लिनसक्ने व्यवस्था विधेयक हुनु हुँदैन भने। प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रस्तुत विधेकयमाथिमा सैद्धान्तिक छलफल हुँदा सम्बन्धीत मन्त्री हुनुपर्ने माग गरे। उपसभामुख सरस्वती पोखरेलले प्रमुख सचेतकलाई सभा समझदारीमा अघि बढ्नुपर्ने आग्रह गरे। अर्को बैठक यही फागुन ४ गते दिउँसो १ बजे बस्नेछ।
शून्य समय
प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्यहरुले मुलुकको समसामयिक विषयमा सरकार र सभाको ध्यानाकर्षण गराएका छन्। सदस्य उमिता विश्वकर्माले पाँचथरको याशोकमा दलित महिलासँग स्थानीय युवा रमेश खड्काले विवाह गरेको र परिवारले अस्वीकार गरेपछि ती दलित महिलामाथि अन्याय भएको बताउँदै ती महिलाको गर्भमा रहेको भ्रुणलाई पनि गर्भपतन गराएर महिलामाथि अत्याचार र विभेद् भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
सदस्य कुसुमकुमारी श्रेष्ठले सुनसरीको इटहरीदेखि धरानसम्मको बाटोमा रहेको जङ्गलमा वरिपरिका फोहर फाल्ने र जलाउने काम भइरहेकोमा यसप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्। सदस्य चुमनारायण तवदारले विराटनगरस्थित आयुर्वेद औषधालय अन्यत्र सार्ने काम भइरहेको सुनिएकाले यसलाई रोक्नुपर्ने बताएका छन्।
सदस्य ज्योति सुब्बाले सुनसरीको दुहबी, कप्तानगञ्ज र इनरुवाको सडकको वास्तविक चौडाइ कति हुनुपर्ने हो, त्यसको जानकारी दिन सरकारलाई आग्रह गरे। सदस्य विद्यान्द चौधरीले सडक विस्तारको काम गर्दा खानेपानी, टेलिकम, बिजुली र सडक डिभिजन कार्यालयबीच समन्वय हुनुपर्नेमा जोड दिएका छन्। अर्का सदस्य सूयर्माराज राईले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का शीर्षस्थ नेता पुष्पकमल दाहालले स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति गरेको टिप्पणीको आलोचना गरे। (रासस)