सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमामुद्दती बचत कार्यक्रम शुरुआत भएको छ।
गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले सो कार्यक्रमको बीमा कागज हस्तान्तरण गर्दै शनिबार शुभारम्भ गरे। पहिलो दिन शिविरमा ७ वटा वडाका १०३ बालिकाको बीमा गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेशकुमार झाले जानकारी दिएका छन्।
सो अवसरमा बालिकाको स्वास्थ्य जाँच समेत गरिएको थियो। ती मध्ये तीन बालिकामा कुपोषित देखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका दिपककुमार मण्डलले जानकारी दिएका छन्।
बीमा कार्यक्रमले २०७५ साल माघ १ गतेदेखि हालसम्म जन्मेका बालिकालाई समेटेको जनाइएको छ। आज वडा नं. ४ कोइलाडीस्थित जिरिया हाटमा शिविर सञ्चालन गरिने छ। (रासस)