काठमाडौं– चाँगुनारायण नगरपालिकाका नगरप्रमुखख सोमप्रसाद मिश्रले स्थानीयहरुको लागि छुट्टै हेल्थ डेस्कको माग गरेका छन्। काेराेना भाइरसकाे माहमारी रहेकाे चीनको वुहान शहरलगायत अन्य शहरबाट उद्धार गरिएका नेपालीहरुलाई खरिपाटी ल्याएपछि उनले यस्तो माग गरेका हुन्।
क्वारेण्टाइनमा बस्नेहरुको लागि हरेक दिन स्वास्थ्य जाँच गर्दा त्यहाँका स्थानीयहरुको पनि स्वास्थ्य जाँच गर्नु पर्ने उनको माग रहेको छ। उनी यसअघि आफ्नो श्रेत्रका जनताहरुको सुरक्षाको लागि क्वारेण्टाइन स्थल खरिपाटीमा बनाउन नहुने भन्दै विरोध गरेको बताउँछन्। उनले भने, ‘यहाँ राख्नै दिन्नौ भन्दा पनि, अन्त नराखिकन किन यहाँ राखियो र यहाँको जनताहरुको सुरक्षा के हुन्छ? भनेर सरकारलाई प्रश्न गरेको हो।’
सरकारले स्थानीयहरुसँग सल्लाह नगरी र काउन्सिलिङ नगरी खरिपाटीमा राख्ने निर्णय गरेकाले विरोध गरेको बताउँदै उनी सोध्छन्, ‘नेपालीहरु नै हुन्, बसुन् तर त्यहाँको स्थानीयहरुलाई केही भयो भने त्यसको जिम्मा सरकाले लिने कि नलिने ?’ अहिले पनि स्थानीयहरुको सुरक्षा र उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने अडान नछाडेको उनी बताउँछन्।
स्थानीयहरु अझै पनि डराइरहेकाले ज्वरो तथा रुघा आएमा अत्तालिन सक्ने भन्दै हेल्थ डेस्क आवश्यक रहेको बताउँछन्। ‘सरकारले आजैबाट त्यहाँ निस्शुल्क हेल्थ डेस्क राखेर जाँच गरेदेखि स्थानीहरुको डर घट्थ्यो।’ सरकारले आज एक सय ७५ जना नेपालीलाई ल्याएर क्वारेण्टाइनमा राखेको छ। अबको १४ दिन उनीहरु निगरानीमा रहनेछन् भने आफन्त तथा परिवारसँग भेट्न पाउने छैनन्।