काठमाडौँ , २८ माघ– आइतबार सोसियल मिडिया फिल्म अवार्ड -२०७५ विभिन्न १२ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ। सामाजिक सञ्जालमा आएका छोटा चलचित्र, भिडियो, सन्देश र समाचारहरुबीच प्रतिस्पर्धामूलक अवार्ड ड्रिम वर्ल्ड अफ फिल्म मेकरले आयोजना गरेको हो।
उत्कृष्ट वृत्तचित्र अवार्ड दयाराम घिमिरेको ‘जोगी’, फेसबुक भिडियो अवार्ड निमेष श्रेष्ठको ‘गु कान्ड’ र युट्युब भिडियो अवार्ड पनि निमेषकै ‘भ्वाइस अफ मिडिल क्लास’ ले हासिल गरेको छ। त्यस्तै न्युज भिडियो अवार्ड सन्तोषी अधिकारीलाई र उत्कष्ट ट्रोल अवार्ड ट्रोल फूटबल नेपाललाई प्रदान गरिएको छ।
त्यस्तै सर्ट चलचित्रतर्फ उत्कृष्ट अवार्ड ‘अलिखित’ लाई, उत्कृष्ट सर्ट निर्देशक अवार्ड ‘अलिखित’बाट अनिरुद्र दुवाडीलाई, सर्ट चलचित्र एडिटर अवार्ड ‘पुन्टेको पांग्रो’ बाट मुकेश चौधरी र योगराज खनाललाई, सर्ट चलचित्र ध्वनि अवार्ड ‘पुन्टेको पांग्रो’ बाट विनय अधिकारीलाई, सर्ट चलचित्र छायाकार अवार्ड ‘द आर्टिस्टिक आर्टिस्ट’ बाट विकल थापालाई प्रदान गरीएको थियो।
सर्ट चलचित्र उत्कृष्ट अभिनेताको अवार्ड ‘बोकाहरु : द क्रोनिकल्स अफ सोसियल अवेर्नेस’ बाट अनिषजंग थापा र निमेश श्रेष्ठलाई, सर्ट चलचित्रको उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘लाचार’ बाट स्मृति न्यौपानेले हात पारिन्। अवार्ड कार्यक्रममा सर्ट चलचित्र बोकाहरुलाई जुरी अवार्ड ‘सञ्चिता बुढाथोकीलाई पब्लिक च्वाइस अवार्ड’, विकास गुरुङलाई इन्करेजमेन्ट अवार्ड, राज मानन्धरलाई उत्कृष्ट सन्देश अवार्ड प्रदान गरिएको छ। उक्त कार्यक्रममा चलचित्र सम्पादक करुण थापा, सञ्चारकर्मी केपी ढुंगाना र संगीता श्रेष्ठ निर्णायकमा थिए।
सामाजिक योगदानबापत समता स्कुलका संस्थापक उत्तम सञ्जेललाई ‘सोसियल मिडिया सामाजिक अभियन्ता सम्मान’, पत्रकार कुवेर गिरीलाई ‘सोसियल मिडिया रंग पत्रकारिता सम्मान’ र चलचित्र निर्देशक संगीता श्रेष्ठलाई ‘सोसियल मिडिया सञ्चारकर्मी सम्मान’ प्रदान गरिएको छ। तीनै जनालाई सम्मानका साथै जनही ११ हजार १११ रपैयाँ पनि प्रदान गरिएको थियो।
त्यस्तै संगीतकार शम्भुजित बाँस्कोटाले कार्यक्रमको उद्घाटन गर्दैै यस्ता अवार्डले सर्ट चलचित्र र सोसियल भिडियोको विकास र विस्तारमा मद्दत पुग्ने विश्वास व्यक्त गरे। आयोजक संस्थाकी अध्यक्ष सवनम मुखियाले नेपालीमा पनि अन्तर्राष्ट्रियस्तरका सर्ट चलचित्र, सोसियल मिडिया भिडियो निर्माण हुने भए पनि त्यसको कतैबाट सम्मान नहुने भएपछि आफूहरुले अवार्ड शुरु गरेको बताइन्।