काठमाडौं– आज बुधबार फागुन ७ गते ७० औँ प्रजातन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा आज काठमाडौंको टुँडीखेलमा विशेष समारोह आयोजना गरिएको छ।
जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ। प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगलाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए। प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।
नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो। जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो।
त्यसपछि तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो। फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ। सबै जिल्लाहरुमा पनि यो दिवस मनाइँदै आएको छ।
फागुन ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना भएको छ। टुँडिखेलमा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरणसमेत गरिएको छ।
नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ। यस्तै फागुन ८ गतेसम्म घर–घरमा साँझ दीपावली गर्न तथा विद्यालय, संघ संस्था, पालिका र प्रदेशमा पनि दिवस मनाउन सरकारले आग्रह गरेको छ। विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासलेसमेत तीनै दिन विभिन्न कार्यक्रम गरी दिवस मनाउने सरकारले जनाएको छ।
यसैबीच प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। उनले देशको आर्थिक–सामाजिक रुपान्तरण नेपाली नागरिकको चाहना भएको र नागरिकका ती चाहना सम्बोधन गर्न यो दिनले प्रेरित गर्ने बताएका छन्।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन्। प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उनले देशको समृद्धि र नागरिकको सुख हासिल गर्ने अभियानमा एकजुट भइ योगदान गर्न सबैसँग आग्रह गरेका हुन्।
त्यस्तै प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित ३२९ जना कैदीको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गर्ने व्यवस्था छ।