पोखरा- प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले सूचना र समाचारको प्रवाहमा समयानुकूल परिवर्तनको जरुरी रहेको बताउनुभएको छ। राष्ट्रिय समाचार समितिको ५९औँ वार्षिकोत्सवका अवसरमा प्रदेश नं ५ को आयोजनामा आज बुटवल आयोजित ‘सङ्घीयता कार्यान्वयनमा राससको भूमिका’ विषयको अन्तर्त्रियामा प्रमुख यादवले भने, “राष्ट्रिय एकता र भाइचारा तथा भ्रातृत्व अभिवृद्धिका लागि सञ्चारले भूमिका खेल्नुपर्दछ। सूचना र सञ्चार प्रवाहमा समयानुकूल परिवर्तनको जरुरी छ।”
प्रदेश प्रमुख यादवले नेपाली जनतालाई विश्वसनीय सन्तुलित र तथ्यपूर्ण समाचार तथा सूचना उपलब्ध गराउने कार्यको महत्व र आवश्यकतालाई आत्मसात् गरी त्यसका माध्यमबाट राष्ट्रिय एकता, सद्भाव र भ्रातृत्वको अभिवृद्धि आवश्यक रहेको बताए। उनले सङ्घीयता सफल कार्यान्वयनमा मिडियाको भूमिका अझै आवश्यक रहेको भन्दै देशले अवलम्वन गरेका सङ्घीय शासन प्रणालीको व्यावहारिक कार्यान्वयनमा जोड दिनुपर्ने बताए।
कार्यक्रममा राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले समाचारको सत्यतथ्य आजको आवश्यकता भएको बताउनुभयो। उहाँले सङ्घीयता कार्यान्वयनमा राससको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै हरेक स्थानीय तहमा राससका प्रतिनिधि जरुरी रहेको बताए। उनले राससले प्रदेशस्तरमा बुलेटिन प्रकाशन गर्नुपर्नेमा जोड दिए। सैनामैना नगरका उपप्रमुख बीना राना मगरले स्थानीय सरकार र मिडियाबीचको सहकार्य अझै प्रभावकारी हुनुपर्ने बताए। मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले मिडिया जनताका पक्षमा हुनुपर्ने बताए।
मानव अधिकार आयोगको प्रदेश ५ का उपनिर्देशक पवनकुमार भट्टले मानवीय जीवनशैली र मानव अधिकारका विषयमा मिडियाको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो। रासस प्रदेश कार्यालय बुटवलका प्रमुख भरत केसीले राज्यको पत्रकारितामा रहेर राससले समाचार उत्पादन तथा रिपोर्टिङ गरिरहेको बताउनुभयो। समारोहमा रासस प्रदेश ५ बाट स्थानीय संवाददाताका रुपमा उत्कृष्ट चयन हुनुभएका रासस पश्चिम नवलपरासीका संवाददाता मोहन पौडेललाई प्रदेश प्रमुख यादवले पुरस्कारस्वरुप रु १५हजार तथा सम्मानपत्रले सम्मान गरे। रासस