काठमाडौं– प्रधानमन्त्री केपी ओलीले जनप्रतिनिधिलाई लुट्नका निम्ति जनताले म्यान्डेड नदिएको बताएका छन्।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको पुस्तक ‘आर्थिक सम्मृद्धि’ सार्वजनिक समारोहमा बोल्दै ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमै आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, ‘जनप्रतिनिधि बन्नु ‘लुटिङ फेसिलिटी’होइन।’ प्रधानमन्त्री ओलीले सबैले जनताले दिएको म्यान्डेड अनुसार काम गर्नुपर्नेमा जोड दिए।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमशिन मागेको अडियो सार्वजनिक भएकोतर्फ लक्षित गर्दै ओलीले कसैको अनुहार हेरेर काम नगर्ने बताए। ‘भ्रष्टाचारको शून्य सहनशीलतामा म अडिग छु’, प्रधानमन्त्री ओलीले भने, ‘कसैको अनुहार हेरेर काम गर्दिनँ।’
त्यस्तै ओलीले सत्तामा बस्ने अविलाशा कसैको नभएको बताएका छन्। ‘सत्तामा धेरै बस्ने अविलाशा कसैको हुँदैन’, उनले भने, ‘त्यहाँ बसेर काम गर्ने हो। चुचुरोमा पुग्ने हो र अर्लिने नै हो।’