काठमाडाैं– विवास्पद अडियाे बाहिरिएसँगै राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाकाे राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरेकी हुन्।
त्यससँगै सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने भएका छन्। त्यस्तै बाँस्कोटाले सञ्चारसँगै शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए। उनले राजीनामा दिएपछि शहरी विकास मन्त्रालयको जिम्मा भने भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन्।
मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा एक स्वीस कम्पनीका प्रतिनिधिसँग कमिसन मागेको बुधबार एउटा अडियाे टेप सार्वजनिक भएको थियो। उक्त अडियाेमा बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ् गर्दै गरेको सुन्न सकिन्छ।
विवादस्पद अडियाेबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भएकाे थियाे। छलफलका क्रममा प्रचण्डले बाँस्काेटाले राजिनामा दिनुपर्ने धारणा राखेका थिए। उपत्यका बाहिर रहेकाे बाँस्काेटाले काठमाडाैं आउने बित्तिकै प्रधानमन्त्रीसामु राजीनामा बुझाएका थिए।