रामपुर– रामपुर नगरपालिका–७ ले वडाभित्र बसोबास गर्ने गरिब तथा बुबाआमा नभएका साहराविहीन बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ। वडा भित्र रहेका ६४ बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भनी शैक्षिक सामाग्री सहयोग गरिएको सहायक वडासचिव गीता पौडेलले जानकारी दिएकी छिन्।
कापी कलम किन्न नसकेर अझै पनि केही बालबालिका विद्यालय नियमित विद्यालय नजाने गरेको पाइएपछि उनीहरुलाई पढाइमा हौसला प्रदान गर्न शैक्षिक सहयोग गरिएको वडाध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताएका छन्। गत वर्ष पनि वडाले शैक्षिक सामग्री सहयोग गरेको थियो।
वडाका सबै टोल बस्ती, विद्यालयमा पुगेर पढाइमा समस्या झेल्दै आएका गरिब, अभिभावकको साहराविहीन बालबालिका छनोट गरेर सामग्री सहयोग गरिएको कार्यपालिका तथा वडा सदस्य दुर्गादेवी भण्डारी गौतमले बताएकी छिन्। शैक्षिक सामग्री पाएपछि विद्यार्थी खुशी भएका छन्।
वडाले गरेको यस कार्यक्रमले विद्यार्थीमा पढ्ने उत्साह बढेको आधारभूत माविका प्रधानाध्यापक रुपनाथ गौतमले जानकारी दिएका छन्। शैक्षिक सामग्री पाएपछि बालबालिका अहिले नियमित विद्यालय जाने गरेका छन्। रासस