दमौली– लायन्स क्लब इन्टरनेशनलको सहयोगमा तनहुँको व्यास नगरपालिका–१२ स्थित अमरज्योति माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ। रु दुई करोड सहयोगमा विद्यालयको आठकोठे भवन निर्माण भएको हो।
गत वर्ष फागुन ७ गते शिलान्यास भएको उक्त भवनको बिहीबार लायन्स क्लब अफ नेपाल ३२५ का एरिया लिडर बालकृष्ण बुर्लाकोटी र क्लबका डिष्ट्रिक गभर्नर इन्दु लम्सालले उद्घाटन गरेका छन्। विसं २०७२ को भूकम्पले क्षति पुगेको भवन निर्माणका लागि लायन्स क्लब इन्टरनेशनले आर्थिक सहयोग गरेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित भण्डारीले नयाँ भवन निर्माण भएसँगै पठनपाठनमा सहजता हुने जानकारी दिएका छन्। लायन्स क्लबले अपाङ्गता भएकालाई ह्विलचियर, न्यून दृष्टियुक्त व्यक्तिलाई सेतो छडी र बहिरा व्यक्तिलाई श्रवणयन्त्र वितरणसमेत गरिरहेको छ।
यसअघि लायन्स क्लबकै सक्रियतामा व्यास –१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान प्रयोगशालाका लागि रु एक करोड आर्थिक सहयोग र दमौली अस्पताललाई रु १६ लाख बराबरको उपकरण हस्तान्तरण भएको थियो।रासस