दमौली – भीमाद नगरपालिका–८ कोखेस्थित हिमालयन माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ। पढ्ने बानीको विकास गराउने उद्देश्यसहित लायन्स क्लब अफ पोखरा ग्रिन हिल र मोनाराम फाउण्डेशनको सहयोगमा विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो।
पुस्तकालय स्थापनाका लागि ग्रिनहिल र मोनाराम फाउण्डेशनले रु एक लाख ५० हजार सहयोग गरेका छन्। पुस्तकालयमा रु ५० हजार बराबरको पुस्तक सहयोग गरिएको छ भने थप पुस्तक खरिद र पुस्तकालयको स्तरोन्नतिका लागि रु एक लाख बराबरको अक्षयकोष स्थापना गरिएको लायन्स क्लब अफ पोखरा ग्रिनहिलका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिएका छन्। उनको अनुसार अक्षयकोषबाट प्राप्त हुने व्याजबाट पुस्तकालयका लागि आवश्यक पर्ने पुस्तक खरिद गर्न सकिनेछ।
उक्त पुस्तकालयको बिहीबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुभारम्भ गरेका छन्। सो अवसरमा उनले पुस्तकले मानिसलाई अध्ययनशील बनाउने भएकाले विद्यालयमा स्थापना गरिएको पुस्तकालयको सदुपयोग गर्न आग्रह गरेका छन्।
पुस्तकालयमा विद्यार्थी, शिक्षक तथा सर्वसाधारणलाई मध्यनजर गरी विभिन्न ज्ञानमूलक पुस्तक राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिप्रसाद शर्माले जानकारी दिएका छन्। विद्यालयमा २५० विद्यार्थी, २० शिक्षक तथा कर्मचारी छन्। रासस