नेपालगञ्ज– कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रकरणमा सरकारको नेतृत्वकर्ताका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताएका छन्।
प्रेस युनियनले शनिबार नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा कोइरालाले सुशासनका कुरा गरेर नथाक्ने प्रधानमन्त्रीले आफैले बनाएका मन्त्रीको कमिसन बार्गेनिङ अडियो सार्वजनिक भएपछि नैतिकता देखाउनु पर्ने बताए।
उनले नियन्त्रित प्रजातन्त्र र नियन्त्रित लोकतन्त्रमा देश अघि बढिरहेको आरोप लगाए। सरकारमा सुशासन पटक्कै नभएको र भ्रष्टचारको कुरा गरी साध्य नभएको कोइरालाको भनाइ छ।
सरकार राम्रोसँग चलोस भन्ने कामना गर्दा पनि सरकार सर्वसत्तावाद हुँदै अधिनायकवादतिर गइरहेको कोइरालाले आरोप लगाए। ‘अनुसन्धानको नाममा सरकारले हस्तक्षेप गरिरहेको छ,’ उनले भने, ‘हरेक घटनाक्रममा अख्तियार र सरकारको मिलोमतो देखियो। यी दुवै सवाल कांग्रेसलाई मान्य छैन।’