काठमाडौँ, २८ माघ – घरपरिवार तथा नातागोताका अधिकांश सदस्य मेडिकल क्षेत्रमा। त्यसै कारण अभिभावकको चाहना थियो, छोरी केनिपा सिंहलाई नर्सिङ पढाउने।
जब उनी एसएलसी पास भइन्, परिवारले नर्सिङ पढ्नका लागि फाराम ल्याइदिए। तर, उनले नर्सिङ नपढ्ने निश्चय गरिन्। यद्यपि, घरपरिवारको दबाबमा केनिपाले प्रवेश परीक्षा दिइन्, पास पनि भइन्। तर, उनको लक्ष्य अर्कै थियो। उनी त्यसैतर्फ केन्द्रित भइन्।
नर्सिङको प्रवेश परीक्षामा पास भए पनि उनले घरपरिवारको दबाबलाई बेवास्ता गर्दै व्यवस्थापन सङ्कायमा अध्ययन शुरु गरिन्। आफ्ना मातापितालाई खुशी बनाएरै केनिपाले नयाँ शैक्षिक यात्रा प्रारम्भ गरिन्।
नर्सिङको परीक्षाफल आउँदासम्म अधिकांश कलेजमा कक्षा ११ मा भर्ना हुने समय घर्किइसकेको थियो। अन्ततः एक नातेदारको काठमाडौँ सातदोबाटोस्थित महेन्द्र आदर्श उच्च माविमा उनी व्यवस्थापन विषय पढ्न थालिन्।
रङ्गमञ्च क्षेत्रमा लाग्ने सोच बनाएकी केनिपाले नर्सिङको प्रवेश परीक्षा पास भए पनि पढिनन्। रङ्गमञ्च हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेकी ललितपुर महानगरपालिका–४ धोबीघाटकी उनी चाँडै फिल्म ‘साइँली’को मुख्य भूमिकामार्फत ठूलोपर्दामा देखिँदै छिन्।
सानै उमेरदेखि रङ्ग क्षेत्रमा विशेष रुचि राख्ने केनिपा नाटक क्षेत्रमा आफूलाई अब्बल सावित गर्दै अहिले फिल्म क्षेत्रमा समेत प्रवेश गरेकी छन्। उनको कलायात्रा निकै संघर्षपूर्ण पनि छ।
रंगमञ्चमा प्रवेश
कक्षा १० सम्म ज्ञान निकेतन शङ्खमूलमा अध्ययन गरेकी केनिपा सानैदेखि नाटक हेर्थिन्। कक्षा ७–८ मा पढ्दा विद्यालयले नै उनलाई नाटक हेर्ने अवसर जुराइदिएको थियो। सो अवसरलाई उनी कहिल्यै मिस गर्दिनथिइन्।
केनिपाको स्कूलले विद्यार्थीलाई गुरुकुल थिएटरमा नाटक देखाउन लाने गर्थ्यो। जुन थिएटर थियो, प्रसिद्ध नेपाली नाट्यकर्मी सुनिल पोखरेलको। पोखरेलको ‘ताराबाजी लै लै’ नामक नाटक उनलाई असाध्यै मन पर्याे। सोही नाटकबाट प्रभावित भएर उनले जीवनको लक्ष्य नाट्यजगतलाई बनाइन्।
‘नाटक हेर्न जाँदा नै एसएलसीपछि नर्सिङ नपढेर नाटक क्षेत्रमै लाग्ने निधो गरेकी हुँ,’ केनिपाले नेपाली पब्लिकसँग भनिन्, ‘ब्याचलर पढ्दादेखि नाट्यक्षेत्रमा लाग्ने अवसर पाएँ, जुन अहिले पनि जारी छ।’
बीबीएस पढ्दा केनिपाले एक दिन एउटा सूचना भेटाइन्। सूचना नाट्यकर्मी पोखरेलले मण्डला थिएटरमा नाटकसम्बन्धी कक्षा सञ्चालन गर्ने सम्बन्धमा थियो। ‘सुनिल सरबाट म धेरै प्रभावित भएकी थिएँ, उहाँले नै प्रशिक्षण दिने थाहा पाएपछि मैले फाराम भरेँ र अडिशन दिएर छनोट पनि भएँ,’ उनले भनिन्।
केनिपाले ३ महिना नाटकसम्बन्धी प्रशिक्षण लिएपछि नाटकबारे धेरै कुराको ज्ञान पाइन्। उनका बुवा केदार सिंह पनि पहिले प्रज्ञाप्रतिष्ठानमा नाटक निर्माण गर्थे। तर, कारणवश उनले निरन्तरता दिन सकेनन्।
एकातर्फ सानैदेखिको रुचि, अर्कोतर्फ बुवाले निरन्तरता दिन नसकेको नाट्य क्षेत्रलाई निरन्तता दिन केनिपा नाटक क्षेत्रमा प्रवेश गरिन्।
‘डेब्यू’मै मुख्य पात्र
केनिपाले करिब ५ वर्षअघि ‘जार’ नाटकबाट नेपाली रङ्गमञ्चमा पाइला टेकेकी हुन्। ‘डेब्यू’ गरेकै नाटक ‘जार’मा उनी मुख्य भूमिकामा थिइन्। विसं २००७ सालको घटनामा आधारित उक्त नाटकमा मुख्य पात्र ‘ठूली’को भूमिका निर्वाह गरेपछि केनिपामा उत्साह र जाँगर अझै थपियो।
‘जार नाटकमा अभिनय गर्न गाह्रै थियो, त्यसमा पनि नाटक २००७ सालको घटनामा आधारित, भाषामा पनि त्यत्तिकै समस्या थियो, तर सुनिल सरले हौसला दिनुभयो, मैले मेहनत गरेँ, गुरु र दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाएँ,’ केनिपाले प्रसन्न मुद्रामा भनिन्।
नाटक क्षेत्रमा प्रवेश गरेको ५ वर्षमा उनले १ दर्जनभन्दा धेरै नाटकमा अभिनय गरिसकेकी छन्। केनिपाले जारपछि कोई किन बर्बाद होस्, युमा, सलेदो, मि एण्ड अदर्स, लाटीको छोरो लगायतका नाटकमा अभियन गरेकी छन्।
‘लाटीको भूमिका गर्न २ महिना नुहाइनँ’
‘जार’ नाटकदेखि साइँली फिल्मसम्म आइपुग्दा नवोदित कलाकार केनिपा सिंहले अनेकन प्रयोग गरिसकेकी छन्। जसमध्ये उनलाई विशेष लाग्छ, ‘लाटीको छोरो’ नाटक।
उनी भन्छिन्, ‘पहिलोपटक अभिनय गरेको नाटक जारमा गरेको भूमिका साँच्चै स्मरणीय लाग्छ, तर लाटीको छोरो मेरालागि प्रेरक र विशेष छ।’
केनिपाले ‘लाटीको छोरो’मा लाटीको अभिनय गर्न २ महिनासम्म नुहाएकी थिइनन्। ‘लाटीको भेषमा देखिन चुनौतीपूर्ण थियो, अहिले सम्झिँदा आश्चर्य लाग्छ, हाम्रो समाजमा अलपत्र अवस्थामा भेटिने सर्वसाधारणको जीवन कुन हदसम्म हुन्छ भन्ने मैले त्यतिबेला मात्रै अनुभूति गर्न पाएँ।’
लाटीको छोरोमा केनिपाले धेरै मेहनत गरिन्। अन्य कलाकारको भूमिका पनि उत्कृष्ट थियो।
जब प्रहरी पक्राउ गर्न आए...
‘लाटीको छोरो’ नाटकको तयारीका क्रममा केनिपाले आफ्नो भूमिकाबारे स्पटमै गएर अध्ययन गर्नु थियो। कहिले गौशाला, कहिले रत्नपार्क, केनिपा लाटीकै शैलीमा घुमिरहेकी हुन्थिन्। टाढैबाट स्कटिङको जिम्मेवारीमा थियो, नाटक निर्माण टिम।
गौशालामा एक दिन झुत्रा लुगा र फोहोरी शरीरमै अभ्यासमा थिइन् केनिपा। उनलाई भोक लागेछ। उनले एउटा पसलमा गएर केही खानेकुरा मागिछन्।
‘पसले खानेकुरा दिन तयार थिए। तर, दोकान सञ्चालककी श्रीमतीले मलाई खानेकुरा दिन मानिनन्,’ उनले भनिन्, ‘मलाई कसैले पछाडिबाट जूस र बिस्कुट दिए, उनीहरूले केही बेरपछि मलाई हामी २ घण्टादेखि वाच गरिरहेको बताए, र उद्धारका लागि प्रहरी बोलाएको पनि बताए, त्यहाँ मैले दुई खालको समाजको दृष्टिकोण अध्ययन गर्ने अवसर पाएँ, त्यतिबेलै प्रहरीको भ्यान आइपुग्यो, म लाटी होइन, नाटकको अभिनय गर्नका लागि अभ्यास गर्न आएकी हुँ भन्नु पर्याे।’
म्यूजिक भिडियो हुँदै फिल्ममा
नाटकमा अभिनय गर्दा गर्दा उनले दुई म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छन्। शिव परियारको ‘वर्षौं भो छोडेको’ बोलको गीत र अर्को आजात गरिदेऊ मलाई बोलको गीतमा अभिनय गरिसकेकी छन्।
नाटकमा अभिनय गर्दागर्दै म्यूजिक भिडियोमा प्रवेश गरेकी केनिपा नेपाली चलचित्रमा समेत प्रवेश गरेकी छन्। उनले अभिनय गरेको चलचित्र ‘साइली’ चैत १५ मा प्रदर्शनमा आउँदैछ। रामबाबु गुरुङको निर्देशन र कथा रहेको फिल्म ‘साइँली’मा उनी सुनिताको भूमिकामा देखिँदै छिन्।
मेनुका प्रधानले मुख्य नायिकाको भूमिका निर्वाह गरेका बेला उनले प्रधानको साथीको भूमिका निर्वाह गरेकी छन्। नाटक खेल्दाखेल्दै उनलाई फिल्म खेल्नका लागि यसअघि पनि प्रस्ताव आएका थिए। कसैमा पात्र, कसैमा चलचित्र निर्माण टोली त कसैमा कथा मन नपरेपछि चलचित्र खेल्न गरिएको प्रस्ताव अस्वीकार गरेको बताउने केनिपा अन्नतः सबै कुरा मन परेपछि चलचित्र ‘साइँली’मा देखिँदै छिन्।
नाटकमा अभिनय गर्नमा पोख्त भइसकेकी उनी फिल्ममा अभिनय गर्न केही गाह्रो भएको अनुभव सुनाउँछिन्। तर, मेहनतले गर्दा पहिलो फिल्ममा अभिनय गर्न सफल भएको उनले बताइन्।
नाटक घर सञ्चालन गर्दै
नाटक हेर्दाहेर्दै खेल्न नाटक थालेकी केनिपा पुरानाे घर नामको नाटक गृह खोल्दैछिन्। केनिपासँगै युवा नाट्यकर्मी सुलक्षण भारती, सिर्जना अधिकारी र कुन्दन थारूले करिब १ करोड रुपैयाँको लगानीमा नाटक घर सञ्चालन गर्ने तयारी गरेका हुन्।
सिनामंगल केएमसी हस्पिटल अगाडि अबको २ महिनामा नाटक घर सञ्चालन गरिनेछ। उक्त नाटक घरमा अरूलाई पनि नाटक प्रदर्शन गर्न दिइनेछ।
अबको बाटो
नाटक, म्यूजिक भिडियो हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी केनिपा तिनै विधालाई सँगसँगै अघि बढाउन चाहन्छिन्।
‘अब यो मात्रै गर्छु भन्ने छैन। सबै क्षेत्रलाई सँगै लैजान्छु। यसैमा निरन्तता दिन्छु,’ उनले भनिन्।
अन्त्यमा, नाम केनिपा कसरी रह्यो?
केनिपा, धेरैले सोध्छन् उनलाई नाम कसले राख्यो? कसरी राखियो भनेर। उनको बुवा र आमाको नामबाट राखिए पनि नामचाहिँ बुवाले नै राखेका हुन्।
उनका बुवाको नाम केदारबाट ‘के’ र आमा निर्मलाको नामबाट ‘नि’ लिएर केनिपा नाम राखियो। आमाको नामबाट ‘नि’ र बुवाको नामबाट ‘के’ लिएर उनका दाइको नाम पनि निकेश राखिएको छ।