काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औं जन्मदिन आफ्नो जन्मथलो तेह्रथुमको आठराईमा मनाउने भएका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, प्रधानमन्त्री ओली बिहान ९ बजेपछि तेह्रथुम प्रस्थान गरेका छन्।
प्रधानमन्त्री ओलीको जन्मघर साविकको इवा गाविस २ खानीगाउँ हो। हाल राज्य पुनर्संरचनापछि यो ठाउँ आठराई गाउँपालिका ४ मा पर्दछ। प्रधानमन्त्री ओली आउने खबरले गाउँमा चहलपहल बढेको छ।
प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी कार्यक्रमको चाँजोपाँजो मिलाउन केही दिन अगाडिदेखि नै आठराईमा छन्। प्रधानमन्त्री ओली पाँचथर हुँदै जन्मथलो पुग्ने छन्। आठराईबासीले गरेका विभिन्न कार्यक्रममा ओली सहभागी हुने छन्।
प्रमुख स्वकीय सचिव भण्डारीका अनुसार आठराई पुग्नुअघि प्रधानमन्त्री ओली सुरुमा पाँचथरको खानेपानी उदघाटन कार्यक्रममा सहभागी हुने छन्। आठराई पुगेपछि प्रधानमन्त्री ओलीले सुकेपोखरी–ढुंगेसाँघु सडकको शिलान्यास र नेपाल बैंक शाखाको उदघाटन गर्नेलगायत कार्यक्रम छ। त्यसपछि गाउँले साथीभाइहरुसँग बसेर जन्मदिन मनाउने कार्यक्रम निर्धारण गरिएको भण्डारीले जनाएका छन्।