काठमाडौं– सरकारले चरम गरिबीको सीमाभित्र रहेको नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ। आइतबार राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले निःशुल्क स्वास्थ्य बीमाबारे घोषणा गरेका हुन्।
साढे १६ लाख नागरिक चरम गरिबीको रेखामुनि रहेको र उनीहरू सबैको प्रिमियम सरकारले नै तिरेर बीमा गरिदिने उनले बताए। ‘अहिले ३५ सय तिरेपछि लाख रुपैयाँसम्म कभर हुनेगरी परिवारको बीमा हुन्छ’ अर्थमन्त्रीले भने, ’गरिबीको रेखामुनि रहेका १६ लाखले त्यो तिर्नु परेन, सरकारले नै तिरिदिनेछ।’
अर्थमन्त्री खतिवडाले बीमा पुहँच बढेर २२ प्रतिशत पुगेको कुरा भएको भन्दै खुसी व्यक्त गरे। ‘बीमा समितिका अध्यक्षज्यूले बीमाको पहुँच २२ प्रतिशत पुगेको बताउनु भयो, यो धेरै राम्रो कुरा हो तर पर्याप्त भने छैन’ अर्थमन्त्री खतिवडाले भने, ‘बीमाको दायरा अझै बढाउनु पर्नेछ, जसले प्रिमियम तिर्न सक्छन् तिर्नु परो तिर्नै नसक्नेका लागि त सरकार छ।’