भक्तपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन्। सिटीइभिटीको ३२ औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा उनले सिटीइभिटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सिटीइभिटी जागिर खाने थलोमा मात्रै परिणत भएको बताएका छन्।
नामअनुसारले सिटीइभिटीले काम गर्न नसकेको भन्दै उनले करारमा कर्मचारी भर्ना गर्ने, जागिर खाने र बस्ने मात्रै सिटीइभिटीको काम हो भनी प्रश्नसमेत गरे। सिटीइभिटीका अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले सिटीइभिटीले पर्याप्त जनशक्ति उत्पादन गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै भने, ‘सिटीइभिटीले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता गरे पनि पर्याप्त जनशक्ति उत्पादन गर्न सकेको छैन, के सिटीइभिटी जागिर खाने थलोमात्रै हो?’
सिटीइभिटीले अहिलेसम्म निजी क्षेत्रलाई अस्थायी सम्बन्धन दिँदै आए पनि त्यो सम्बन्धन स्थायी बनाउनेतर्फ चासो नदिएको उनको भनाइ थियो। उनले निजी क्षेत्रसँगको सम्बन्धन स्थायी नभएकाले सिटीइभिटीले गुणस्तरीय र आवश्यकतानुसार जनशक्ति उत्पादन गर्न नसकेको बताएका छन्।
सिटीइभिटीमाथि जहिले पनि मन्त्रालयले हस्तक्षेप ग¥यो, काम गर्न दिएन भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै मन्त्री पोखरेलले भने, ‘जहिले पनि सिटीइभिटीलाई मन्त्रालयले हस्तक्षेप ग¥यो भन्ने ? तपाईंहरु भन्न सक्छन्, मेरो सचिवालयले कुन–कुन घटनाक्रममा कहिले–कहिले हस्ताक्षेप गरेको छ ?
मैले अहिलेसम्म एउटा पनि निजी संस्थालाई सम्बन्धन दिएको छैन।’ सिटीइभिटी आफू काम गर्न नसक्ने तर दोष मन्त्रालयलाई लगाउने गरेकामा रोष व्यक्त गर्दै मन्त्री पोखरेलले भने, ‘तपाईंले एउटै कर्मचारीलाई जिम्मेवारीमा राखे? सक्रिय प्रणाली लागू भएन, पटक–पटक कर्मचारी फेरबदलको सल्लाह दिएँ, कार्यका आधारमा कार्य्दिशा तय गरी काम गर्न निर्देशन दिएँ तर लागू भएन।’
सिटीइभिटी सीप, शिक्षा, चरित्र सिकाउने थलो हो भन्दै मन्त्री पोखरेलले आफ्नो जिम्मेवारीप्रति ध्यान दिन निर्देशन दिए। कार्यक्रममा लामो समय काम गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो। (रासस)