मंसिर २४ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको स्थापनापछि मानवअधिकार स्थापित गरिनुपर्छ भन्ने मान्यतालाई विश्वले स्वीकार गरेको बताउनुभएको छ ।
कूटनीतिज्ञ डा. शम्भुराम सिङ्खडाले लेख्नुभएको ‘ह्युमन राइटस्‘ ह्युमन रङ्स्’ नामक पुस्तक लोकार्पण गर्दै उहाँले राष्ट्रसङ्घको स्थापनापछिको लामो इतिहासमा बडापत्रसहित थुप्रै महासन्धि संसारका लागि उत्तम उपहारका आएको चर्चा गर्नुभयो ।
सबै नागरिक बराबर हुन भन्ने राष्ट्रसङ्घको बडापत्रमा उल्लेखीत बुँदालाई सबैले कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै मन्त्री ज्ञवालीले संसारमा अझै करोडौँ मानिस भोकमरीको चेटामा रहेकाले सशस्त्र होडबाजीमा हुने खर्चको १० प्रतिशत रकम मात्र तिनका लागि खर्च गर्न सके कोही भोकै बस्नुपर्ने अवस्था नआउने बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले राज्यलाई जवाफदेही बनाउन सकेमात्र मानव अधिकार संरक्षण हुने चर्चा गर्दै हामी सबै मिलेर अघि बढे यस्मा सुधार ल्याउन सकिने बताउनुभयो ।
आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले असमानता र विभेदबीच मानवअधिकार संरक्षण चुनौतिपूर्ण रहेको उल्लेख गर्नुभयो । प्रा डा केदारभक्त माथेमाले नेपालका ९० प्रतिशत मानिस ऋण विना जीविका चलाउन नसक्ने बताउनुभयो । लेखक सिङ्खडाले राष्टसङ्घमा रहँदा प्राप्त अनुभवलाई आफूले पुस्तकमा समेटेको बताउनुभयो ।