जुम्ला– जुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएपश्चात यहाँका विद्यार्थीले हातहातमा पाठ्यपुस्तक पाएका छन् । तिला गाउँपालिकास्थित राजेन्द्र स्टेसनरी र दीप कैलाश स्टेसनरीले सदरमुकामबाट समयमै पाठ्यपुस्तक खरीद गरी विद्यार्थीलाई वितरण गरेका हुन् ।
गाउँपालिकाले ती स्टेनसनरीलाई पाठ्यपुस्तक खरिदको जिम्मा दिएको थियो। विद्यालयले विद्यार्थीको सही विवरण पठाएअनुसार किताब खरिद गरेकाले यहाँका विद्यार्थीलाई खाली हात कक्षामा जान बाध्य नभएको सीता माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पाण्डेले बताएका छन्।
गाउँपालिकामा २७ सामुदायिक विद्यालयका पाँच हजार ५०० भन्दा बढी विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद गर्न विद्यालयलाई गाउँपालिकाले समयमै रकम उपलब्ध गराएको थियो । नयाँ शैक्षिकसत्र भर्ना यही फागुन १० गते समाप्त भएको र अब पढाइ नियमित हुने पालिकाको शिक्षा युवा तथा खेलकूद शाखाका सहसंयोजक दीपेन्द्रराज हमालले बताएका छन् ।
सदरमुकाममा रहेको चन्दननाथ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले किताब पसलबाट किताब खरिद आफैँ गर्छन् र विद्यालयले खरिद गरेको बिल पेश गरेपछि खरिद मूल्यअनुसार नगद भुक्तानी गर्दछ । यहाँका अरु पालिकाले पनि आफ्नो पालिकाभित्रका किताब पसल र सदरमुकाम खलङ्गामा गरेका किताब पसललाई विद्यालयको पाठ्यपुस्तक खरिदको जिम्मा दिएकाले विद्यार्थीले यो वर्ष समयमै पाठ्यपुस्तक पाएको पालिकाले जनाएको छ । रासस