जुम्ला – जुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएयता जिल्ला बाहिर गएका शिक्षक धमाधम जिल्ला फर्किँदैछन्। वार्षिक परीक्षापछि जाडो छल्न र जिल्ला बाहिरका शिक्षक बिदा मनाउन घर गएकाले आफ्नो कार्यस्थलमा फर्किएको कालिका निम्नमाध्यमिक विद्यालयका शिक्षक जयबहादुर बुढाले बताए।
सदरमुकाम क्षेत्रमा पर्ने केहीबाहेक अन्य सबै विद्यालयका शिक्षक गत मङ्सिर अन्तिम साता जिल्ला छाडेर गएकाले शैक्षिक सत्र शुरु भएपछि विद्यालय आएको तिला गाउँपालिका–१ को सीता मावि कक्षा ८ मा अध्यनरत छात्र हिमाल रावतले बताएका छन्।
तिला गाउँपालिकाको सीता, सरस्वती र देउराली माविलगायतका विद्यालयका शिक्षक विद्यालय आइपुगेको र केही शिक्षक आउन बाँकी रहेकाले विद्यालयमा नआएका शिक्षकलाई कानूनी कारवाही गरिने गाउँपालिका अध्यक्ष रतननाथ योगीले जानकारी दिए।
यहाँका आठवटै पालिकामा रहेका सबै विद्यालयले फागुन १० गतेसम्म नयाँ भर्ना समाप्त गरी नियमित पढाइ शुरु गरेका छन्। जाडो छल्न छुट्टी मनाउन घर गएका जिल्लाका ५० प्रतिशत शिक्षक फर्किएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी शिवशङ्कर चौलागाईंले बताए।
विसं २०७५ को तथ्याङ्कअनुसार जुम्लामा मावि, निमावि र प्रावि गरी १ सय ७० विद्यालयमा दरबन्दी तथा राहत कोटा गरी ८ सय ७ शिक्षक रहेको र त्यसमध्ये पाँच प्रतिशत शिक्षक जिल्ला नफर्किएको सूचना अधिकारी चौलागाईंले बताए। रासस