काठमाडौँ, २९ माघ – चलचित्र ‘गोपी’ले हल नछाड्दै अभिनेता विपीन कार्की अर्को नयाँ चलचित्रमा अनुबन्ध भएका छन्। म्यूजिक भिडियो सम्पादक तथा निर्देशक निशान कश्यपको डेब्यू निर्देशनमा बन्न लागेको चलचित्र ‘परीः उड्न देऊ’ मा उनको प्रमुख भूमिका रहने भएको छ।
यस चलचित्रकोे सोमबार औपचारिक निर्माणको घोषणा गरिएको छ। चलचित्रमा विपीनको अपोजिटमा सर्लाहीकी श्रृष्टि खड्का रहने छिन्। वैशाखबाट छायाङ्कन शुरु हुने उक्त चलचित्रका लागि साढे १ करोड रुपैयाँे बजेट छुट्याइएको छ।
रूपेशमान अमात्य निर्माता रहेको यस चलचित्रकोे कन्सेप्ट निर्देशक कश्यप स्वयंको हुनेछ। यसले संवेदनशील विषय उठाउने बताइएको छ। निर्देशक कश्यपले घोषणासभामा भने, ‘हामी एउटा उत्कृष्ट चलचित्र बनाउने इमानदार प्रयास गर्नेछौँ।
चलचित्र रमाइलो, पारिवारिक र सस्पेन्स थ्रिलर हुनेछ।’ आरएन आइकनको ब्यानरमा बन्ने यस चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन्। चलचित्रका लागि छनोट भएका बाँकी कलाकार भने केही दिनमा सार्वजनिक गरिने निर्देशक कश्यपले बताए।
निपिल शर्माको कथा लेखन रहेको यस चलचित्रमा सफल केसी मुख्य सहायक निर्देशकका रूपमा रहनेछन् भने टौवा क्रियशनको काँधमा पब्लिसिटी डिजाइनको जिम्मेवारी रहेको छ। कार्यक्रममा बोल्दै अभिनेता विपीनले आफूले यसअघिका चलचित्रमा निर्वाह गरेको भूमिकाभन्दा ‘परी’मा विल्कुलै फरक रहेको बताए। अभिनेत्री खड्काको भने यो डेब्यू चलचित्र भएको बताइन्।