लुम्बिनी– साझा पार्टीको राष्ट्रिय भेला शान्तिभूमि लुम्बिनीमा आज सुरू हुँदैछ। फागुन १७ गतेसम्म चल्ने भेलामा देशका सातै प्रदेश तथा विदेशस्थित सद्भाव समूहकासमेत गरी करीब पाँच सय अगुवा सदस्य सहभागी हुनेछन्।
“साझा पार्टी फरक धार, नयाँ उर्जा संगठन र विचार” नारा दिईएको राष्ट्रिय भेलाले पार्टी स्थापनायताको अनुभव, सिकाइ, उपलब्धिहरूलाई रक्षा गर्दै तिनको जगमा अझ अगाडि जाने र आगामी एक बर्षभित्र पार्टीलाई नयाँ राजनीतिक उचाइ दिने गरी रणनीतिक र सांगठनिक कार्ययोजना तय गर्नेछ।
भेलाको पहिलो दिन आज दिउँसो तीन बजेपछि उद्घाटन सत्र सुरू हुनेछ। आजै साँझ सात बजे केन्द्रीय समितिका सम्पूर्ण सदस्य र भेलाका सबै सहभागी सदस्यहरूले मायादेवी मन्दिरमा शान्ति दीप प्रज्वलन गर्ने कार्यक्रम छ । दोस्रो दिन शुक्रबार समूहगत प्रस्तुती र छलफल हुनेछ। तेस्रो तथा अन्तिम दिन शनिवार समूहगत छलफलमा उठेका प्रश्नहरुको जवाफ केन्द्रीय नेतृत्वले दिनुका साथै साझा पार्टीको रणनीति र कार्ययोजना पारित गरी लुम्बिनी घोषणापत्र जारी गर्दै भेला समापन हुनेछ।