बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै पार्टीका नेताहरुले सरकारविरुद्ध भ्रम छरेको आरोप लगाएका छन्। सञ्चारमाध्यमले तथ्यमा टेकेर विश्लेषण नगरी भ्रमपूर्ण समाचार पस्कने गरेको समेत उनको आरोप थियो।
‘जनतामा कृत्रिम असन्तुष्टिको नकारात्मक भ्रम छर्ने काम भइरहेको छ, र पछिल्लो समय पार्टीका कतिपय नेताले त्यसमा मलजल गरिरहेका छन्’ पोखरेलले भने, ‘अर्थतन्त्रका सूचक सकारात्मक दिशामा गइरहेका छन्, आयात घट्दै र निर्यात बढ्दै गइरहेको छ तर कतिपय नेतामा सरकारप्रति बडो असन्तुष्टि देखिन्छ, त्यो अल्पज्ञान वा राजनीतिक दिवालियापन बाहेक केही होइन।’
पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने प्रदेश सरकारको लक्ष्य रहेको भन्दै मुख्यमन्त्री शंकर पोखरेलले त्यसका लागि निजी क्षेत्रको साथ र सहकार्य आवश्यक रहेको बताए। लुम्बिनी गुरुयोजना अनुरुप लुम्बिनीको विकास गर्न राज्यको एकल प्रयास मात्रै भएको र निजी क्षेत्र नजोडिएको भन्दै उनले निजी क्षेत्र पनि जोडिनु आवश्यक रहेको बताए।
प्रदेश सरकार औद्योगिक विकासमा नयाँ सोचका साथ अगाडि बढेको र प्रदेशमा ३ वटा औद्योगिक क्षेत्र र स्थानीय तहस्तरमा औद्योगिक ग्राम बनाउन लागेको मुख्यमन्त्रीले जनाए।