काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जन्मदिनमा केक नकाट्न नेता कार्यकर्तालाई आग्रह गरेकी छन्। इन्चार्ज शाक्यले केक काट्ने संस्कृति नेपालीको नभएको बताइन्।
नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालसहितका नेताहरु उपस्थित रहेको नेकपाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले ओलीलाइ प्रश्न गरिन् ‘नेपालको नक्साको केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो ?’
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनको अवसरमा तेह्रथुम पुगेर नेपाली नक्शा आकारको केक काटेका थिए। प्रधानमन्त्रीले नेपाली नक्शा आकारको केट काटेको भन्दै चर्को आलोचना भएको थियो।
उक्त प्रकरणप्रति लक्षित गर्दै शाक्यले कम्युनिस्ट पार्टीका नेता कार्यकतामा सामन्ती संस्कार देखिनु चिन्ताजनक भएको बताइन्। सत्तामा बसेर पार्टीका नेताहरु लेनदेनमा संलग्न हुनु गलत भएको नेतृ शाक्यले बताइन्। उनले सचिवालय सदस्य र पार्टीका मूल नेतृत्वले कार्यकर्तालाई उत्साहित बनाउने अभिव्यक्ति दिन आग्रह गरिन्।