काठमाडौँ, २९ माघ – नायिका वर्षा राउत र नायक संजोग कोइरालाले टीकाटालो गरेका छन्। आउँदो फागुन २ गते प्रेम दिवसको दिन विवाह गर्न लागेका यी दुईले सोमबार परिवारको उपस्थितिमा एकअर्कालाई औँठी लगाए। वर्षा र संजोग ७ वर्ष लामो प्रेम सम्बन्धमा थिए।
इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै वर्षा र संजोगले आ-आफ्नो आधिकारिक फेसबूकमा एउटै स्टाटस् ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ’ पोस्ट गरेका छन्। उनीहरूले आफूहरूको संयुक्त नाम ‘सन्सा’समेत राखेका छन्। केही हप्ता अगाडि वर्षा र संजोगले फरक शैलीमा निमन्त्रणा कार्डमार्फत विवाहको मिति घोषणा गरेका थिए।
अहिले उनीहरूलाई चलचित्रकर्मी तथा शुभचिन्तकहरूको बधाई तथा शुभकामनाको ओइरो लागेको छ। चलचित्र अडिसनका क्रममा संजोग र वर्षाको पहिलो पटक भेट भएको थियो। पहिलो भेटमै उनीहरू एकअर्कासँग नजिक भए। अब उनीहरू प्रेम गर्नेहरूका लागि विशेष दिन अर्थात् ‘भ्यालेनटाइन डे’मा विवाह बन्धनमा बाँधिँदैछन्।
नायिका वर्षाले विवाहपछि पनि चलचित्रमा सक्रिय रहने वाचा गरेकी छन्। उनको नयाँ चलचित्र ‘गोपी’ अहिले हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ। यसअघि उनको ‘चौका दाउ’ प्रदर्शनमा आएको थियो। अहिले उनी ‘जात्रै जात्रा’मा व्यस्त छिन्। ‘सन्सा’ जोडीले पहिलो पटक चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा काम गरेका छन्।