काठमाडौं– राष्ट्रियसभाको विशेष समयमा सत्ता र प्रमुख प्रतिपक्षी दलका सांसदबीच सरकारको कामका विषयलाई लिएर दोहोरी चलेको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी– नेकपा का खिमलाल भट्टराईले पार्टीभित्रकाे समस्या समाधान हुनपर्नेमा ध्यानाकर्षण गराउँदै ललिता निवास प्रकरणमा गहिराइमा पुगेर छानबिन गर्नुपर्ने माग गरेका छन्।
प्रदेशमा समेत प्रतिवर्ष ६ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर भइरहेकाले देश विकास र समृद्धिमा अघि बढिरहेको उनको भनाइ थियो। पूर्वाधार विकासमा समेत फड्को मारेको र सरकार समृद्धिको दिशामा अघि बढेको उनले जिकिर गरेका छन्।
पोखरा र निजगढ विमानस्थलको काम अघि बढेको तथा कृषि, शिक्षा र स्वास्थ्यको कामसमेत असाध्य गतिका साथ लम्केको उनको भनाइ थियो। सत्तापक्षका सांसद लगत्तै बोल्नुभएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डेले भट्टराईप्रति लक्ष्य गर्दै अर्थमन्त्री पद रिक्त हुन लागेकाले बजेट भाषणको तयारी गरेको हो कि भनी व्यङ्ग्य गरेका छन्।
राष्ट्रियसभालाई भारदारीसभामा परिणत नगर्न पनि उनले सुझाव दिएका छन्। तथ्याङ्कलाई मिथ्याङ्कले छोप्न खोजिएको को सांसद पाण्डेको आरोप थियो। ‘पार्टीभित्र अडियो काण्डको छानबिन गर्न प्रधानमन्त्रीले रोकेका छन्, त्यसका पछि प्रधानमन्त्री नै रहेको चर्चा बाहिर भइरहेको छ’, सांसद पाण्डेले भने। सांसद मुक्ताकुमारी यादवले अडियो काण्डका पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई बचाउन सरकार लागिपरेको आरोप लगाउँदै सो प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
सांसद विना पोखरेलले सुत्केरीलाई भारतमा २६ महीनाको बिदा दिइने व्यवस्था भएको र अन्य देशमा त्यसभन्दा बढी बिदा दिने गरिएकाले नेपालमा पनि छ महीनादेखि बढाउनपर्ने व्यवस्था गर्न माग गरेका छन्।
सांसद रमेशप्रसाद यादवले पर्यावरण बिग्रँदै गएकाले संरक्षणका लागि काम हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद यूटोल तामाङले ल्होसारमा सार्वजनिक बिदा काटिएको गुनासो गर्दै जनजाति बसोबास गरेको स्थानमा स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने माग गरेका छन्। धेरै पर्यटकीयस्थल कर्णाली प्रदेशमा रहेकाले त्यसको प्रचारप्रसार गर्नुपर्नेमा पनि उनको जोड थियो।
सांसद कमलाकुमारी ओलीले संसदीय समितिको अनुगमनका क्रममा स्थानीय तहमा उपप्रमुखका गुनासो धेरै पाइएकाले न्यायिक समितिको समेत नेतृत्व गर्ने उपप्रमुखलाई कानूनी सल्लाहकारको व्यवस्था गर्नपर्ने माग गरेका छन्।
सांसद रमेशजङ्ग रायमाझीले रु ७० करोडको सेक्युरिटी प्रेस काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्ने बाटो खोल्नुपर्ने बताएका छन्। सांसद खेमराज नेपालीले बताएका छन्। नेपाली सेना र नेपाल प्रहरीले बजाएको पुरानो धुन परिवर्तन गर्न माग गरेका छन् । रासस