सिन्धुपाल्चोक– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। शुक्रबार बिहान खुमलटारको बैठकबाटै चितवन गएका उनी करिब २ बजे हेलिकप्टरमा सुकुटे पुगेका हुन्। शनिबार हुने सुकुटे महोत्सव उदघाटन गर्न शुक्रबार दिउँसै प्रचण्ड सुकुटे गएका हुन्।
प्रचण्ड आरामका लागि यसअघि पनि सुकुटे पटक पटक जाने गरेका थिए। पछिल्लो पटक पुसको तेस्रो साता मात्रै सुकुटेमाथिको गाउँ कदमबासमा पुगेर एक रात बसेका थिए।
प्रचण्ड पहिलो पटक २०३८ सालमा सिन्धुपाल्चोक गएका थिए। हालको चौतारा साँगाचोकगढी नगरपालिका तत्कालीन साँगाचोकमा तत्कालीन माओवादी नेता ध्रुव पराजुलीको बेसीघरमा बास बसेका प्रचण्ड दोस्रो पटक २०५१ सालमा जनयुद्धको तयारीका लागि सदरमुकाम चौतारास्थित गौरीगाउँको तामाङ टोलमा एक रात प्रशिक्षण दिएर फर्किएका थिए। त्यसपछि भने उनी युद्ध अवधिभर सिन्धुपाल्चोक फर्किएनन्।
०५२ सालदेखि प्रचण्डकै नेतृत्वमा तत्कालीन माओवादीले युद्ध सुरु र्गयो। देशमा शान्ति प्रक्रिया आएपछि ०६३ सालको दसैं मनाउन प्रचण्ड परिवासहित हालका सभामुख अग्निप्रसाद सापकोटाको नौबिसेमा रहेको घरमा गए। प्रचण्ड तीन दिन बसेर काठमाडौं फर्किएका थिए। त्यसपछि २०६८ मा तत्कालीन माओवादीको स्थायी कमिटी बैठक पनि सुकुटेमै राखिएको थियो।
०७१ सालमा जुरेमा पहिरो गएको बेला प्रचण्ड पहिरो छिचोल्दै हिँडेरै बाह्रबिसे पुगेका थिए। ०७२ सालको विनाशकारी भूकम्पले ढलेको साँगाचोकस्थित जनजागृति माविमा टहरा बनाउन पुगेका उनी त्यसपछि ०७५ बैशाख ७ गते सुकुटे गएका थिए। त्यसको ठीक एक वर्षपछि ०७६ बैशाख ६ गते पनि फ्रेस हुन भन्दै प्रचण्ड सुटुक्क सुकेट पुगेका थिए।
प्रचण्ड यसअघि पनि महत्वपूर्ण निर्णय लिनुअघि सिन्धुपाल्चोकको सुकुटे जाने गरेका थिए। राजनीतिमा उत्तारचढाव आउने बित्तिकै प्रचण्डले सिन्धुपाल्चोक नै ‘जक्सन’ बनाउने गरेका छन्। केही दिनअघिदेखि नेकपाभित्र विवाद बढेको छ। नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने सचिवालयले निर्णय गरेको थियो। तर प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली गौतमलाई राष्ट्रियसभामा लैजान नहुने बताउँदै आएका छन्। तर गौतमको नाम सिफारिस गर्ने सचिवालयको निर्णय सर्वसम्मत भएकाले यसको अवज्ञा गर्ने कुरा कल्पनाभन्दा बाहिरको रहेको प्रचण्डले बताउँदै आएका छन्।