टीकापुर– नेकपाका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री रघुवीर महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको निर्णय मान्नुपर्ने बताएका छन्। शनिबार बिहान टीकापुरमा पत्रकारसँग कुराकानी गर्दै महासेठले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्न सचिवालयले गरेको निर्णय कार्यान्वयन हुने धारणा राखे।
प्रधानमन्त्री ओली स्वयम् संलग्न बैठकबाट निर्णय भएकाले पार्टीको निर्णय मान्दिन भन्न नपाउने उनको तर्क छ। ‘सचिवालयको निर्णय बमोजिम उपाध्यक्ष गौतम राष्ट्रिय सभामा जानुहुन्छ’ महासेठले भने तर सचिवालयमा प्रधानमन्त्रीले उक्त निर्णयबारे पुनर्विचार गर्न आग्रह गर्नसक्ने बताए।
संसद विघटन हुने विषयमा प्रधानमन्त्रीले सोचसमेत नबनाएको जिकिर गर्दै महासेठले संसद विघटन गर्नुपर्ने कुनै कारण नभएको बताए। सरकारले राम्रो कामको सुरुवात गर्दा समेत आलोचना खेप्नु परेको बताउँदै उनले प्रधानमन्त्रीले पार्टीको विश्वास लिएर काम गर्नुपर्ने बताए। ‘सांसद विघटन गर्नुपर्ने सोंच प्रधानमन्त्रीको छैन, यो दुष्प्रचार मात्र हो,’उनले भने।
महासेठले आलोचकहरुले नेकपाको सरकारलाई घेराबन्दीमा पारेको टिप्पणी गरे।मन्त्रीमण्डल हेरफेरको विषय प्रधानमन्त्रीको विशेषाधिकार भएकाले आवश्यकता बमोजिम मन्त्रीमण्डल गठन हुने उनले दाबी गरे। भौतिक योजना तथा पूर्वाधार मन्त्री रहेका महासेठलाई प्रधानमन्त्री ओलीले कार्यसम्पादन मुल्याकंन सन्तोषजनक नभएको भन्दै मन्त्रीमण्डलबाट हटाएका थिए।