सुनसरी– विवादमा तानिएका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूले देश, जनता र पार्टीको शीर निहुर्याउने गरी कुनै गल्ती नगरेको बताएका छन्। शनिबार प्रेस संगठन प्रदेश नम्बर १ को भेलामा बोल्दै उनले आफूलाई फसाउन अनेक षड्यन्त्र भइरहेको बताएका हुन्।
मुख्यमन्त्री राईले आफ्नो श्रीमान दाबी गर्दै शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी महिलाललाई आफूले नभेटेको बताएका छन्। उनले आफूलाई फसाउनको लागि कसैले ती महिलाको प्रयोग गरिरहेको दाबी गरे। उनले वास्तविकता विस्तारै खुल्दै जाने पनि बताए।
दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी शुक्रबार जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी थिइन्।
सञ्चारमन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको खड्काले दायर गरेको मुद्दामा उल्लेख छ। मुख्यमन्त्री राईले आफूलाई यौन दुर्व्यवहारका साथै घरेलु हिंसा गरेको उनले आरोप लगाएकी छिन्।