काठमाडौं– आज (आइतबार) प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै। राष्ट्रियसभा सदस्य सिफारिस विवाद चर्किरहेका बेला नेकपाले आइतबार बिहान ११ः३० बजेका लागि पार्टी सचिवालय बैठक बोलाएको हो।
आजको सचिवालय बैठक राष्ट्रियसभा सदस्यको मनोनयनमा केन्द्रित हुने बताइएको छ। नेकपा सचिवालयको अघिल्लो बैठकले राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभा सदस्यका लागि उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको थियो।
सचिवालयले सर्वसम्मत रूपमा गौतमको नाममा सहमति जुटाए पनि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाएका थिए। उनले मनोनयन सिफारिसमा सरकार स्वतन्त्र रहेको भन्दै कार्यवधि सकिन लागेका अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएका छन्।
तर, नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालले गौतमलाई नै लैजानुपर्ने मत राखेपछि नेकपामा विवाद छ। यहीबीच बस्न लागेको नेकपा सचिवालय बैठकले विवाद समाधानको मध्यमार्गी उपाय खोज्ने अनुमान गरिएको छ। बैठकमा पार्टीको आन्तरिक विवाद बाहेक समसामयिक राजनीति र सरकारलाई गति दिनेलगायत विषयमा पनि छलफल हुने नेताहरूको भनाई छ।