काठमाडौं– नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सञ्चारमन्त्रीबाट राजीनामा दिएका गोकुलप्रसाद बाँस्कोटामाथि छानविन गरी कारबाही गर्न माग राख्दै नेविसंघले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ।
नविसंघले आज बिहान काठमाडौंका त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, त्रिचन्द्र क्याम्पस, आरआरलगायत क्याम्पसअगाडि प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरे। सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको उनीहरुको आरोप छ।
नेविसंघ महामन्त्री दीपक भट्टराईका अनुसार देशैभर रहेका क्याम्पस अगाडि प्रदर्शन गरिएको हो। नेविसंघले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न तथा इन्धन र पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गर्न माग गरेको छ।
स्वीस कम्पनीका एक जना एजेन्ट विजय मिश्रसँग कमिसनबारे कुरा गरेको अडियो सार्वजनिक भएपछि सरकारको प्रवक्ताको जिम्मेवारीमा रहेका बाँस्कोटाले यही फागुन ८ गते पदबाट राजीनामा दिएका थिए। त्यसको भोलिपल्ट पनि अध्यक्ष राजीव ढुंगानाको नेतृत्वमा नेविसंघले विरोध प्रदर्शन गरेको थियो।
‘बाँस्कोटाले राजीनामा दिएर मात्र छुट पाउँदैनन्। छानविन गरेर दोषी ठहरिए कारबाही गरिनुपर्छ,’ महामन्त्री भट्टराईले भने, ‘ओली सरकारले बाँस्कोटालाई उन्मुक्ति दिन खोज्दैछ। छानविन गरी कारबाहीको गर्न दबाब दिन प्रदर्शन गर्नुपरेको हो।’