काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले पूर्वसञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भएको ७० करोड रुपैयाँको अडियाेको छानविनबारे चासो व्यक्त गरेका छन्।
आइतबार उनले प्रतिनिधि सभा बैठकमा छानविन अगाडि नबढ्नुको नियत के हो भनेर प्रश्न गरेका हुन्। देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक भएको एक साता सम्म पनि छानविन नहुनु गम्भीर विषय भएको बताए।
उनले बाँस्कोटको अडियाेमा हामीलाई कति आउँछ भन्ने प्रष्ट सुनिएको भन्दै हामी भनेको को हो भनेर प्रश्न पनि गरे। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मोलमोलाइ गरेको दाबी गरिएको अडियाे बाहिर आइसकेपछि छानविन नै नगरी प्रधानमन्त्रीले उक्त अडियाे नक्कली भनेर टिप्पणी गर्नु आपत्तिजनक भएकाे देउवाको भनाइ छ।