काठमाडौं, २९ माघ – विश्वप्रसिद्ध अमेरिकी कलाकार तथा गायक जोन बोन जोभीले भनेका छन्, ‘कुनै पनि काम गर्ने तीव्र इच्छा वा जुनूनभन्दा महत्त्वपूर्ण केही हुँदैन, मानिस आफ्नो जीवनमा के गर्छ भन्ने कुराको कुनै अर्थ रहँदैन। तर, कति इमानदारी र समर्पणभावका साथ गर्छ भन्नेचाहिँ ज्यादै महत्त्वपूर्ण हुन्छ।’
वास्तवमै कुनै काम गर्ने योजना बन्छ भने त्यसलाई पूरा गर्न अवश्य पनि कडा मेहनत र तीव्र इच्छाशक्ति चाहिन्छ नै। त्यही मेहनत र धैर्यताको बाटोबाट मानिस सफलताको शिखरमा पुग्नसक्छ।
‘हो, मलाई पनि यस्तै लाग्छ, मेहनत, लगनशीलता र धैर्यताबाट नै सफलता हासिल हासिल हुन्छ,’ उदीयमान कलाकार मिलन कार्की भन्छन्, ‘मैले पनि समयका पदचापहरू बुझ्दै अघि बढ्ने क्रममा यही सिकेको हुँ।’
भोजपुरबाट उदयपुर हुँदै काठमाडौं
पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मिएका मिलन बाल्यावस्थादेखि नै खेलकुदमा विशेष रुचि राख्थे। फुटबल खेल्नु र खेलकुद क्षेत्रमा भविष्य बनाउने सपना बोकेका थिए उनले। ‘तर, मेरो बाटो बदलियो, समय र परिस्थितिले म थिएटर कलाकार बन्न पुगेँ।
भगवती कार्की र तीर्थराज कार्कीका छोरा हुन् मिलन। उनी जन्मिएको १ वर्षपछि दुई दाजु, एक दिदीसहित परिवार उदयपुर आयो।
सानैदेखि सङ्गीतप्रति चाहना राख्ने मिलनले प्रारम्भिक शिक्षा उदयपुरकै जनता माविबाट पूरा गरे। एसएलसी पनि सोही स्कूलबाट पास गरेपछि उनी विसं २०६४ तिर काठमाडौं आए।
काठमाडौंमा मेट्रो हाइयर कलेजबाट प्लस–टु पूरा गरेका मिलन अहिले रत्नराज्य (आरआर) क्याम्पसमा स्नातक तहमा राजनीतिकशास्त्र र म्यूजिक विषय अध्ययन गर्छन्।
गायक बन्ने रहर थियो, तर...
मिलनलाई प्राविमा पढ्दा नै स्टेजमा प्रस्तुति दिने अवसर जुरेको थियो। ‘स्कूलका कार्यक्रम हुँदा गीत गाउथेँ, त्यसलाई कलेजमा पनि निरन्तरता दिएँ,’ उनी भन्छन्, ‘तर, फुटबल राम्रो खेल्ने भएकाले फुटबलर बन्ने सोचभन्दा नाटक क्षेत्रमा लाग्ने चाहना चाहिँ प्रबल भइदियो।’
फुटबल र सङ्गीतिक क्षेत्र उनका रुचिका विषय थिए। त्यसकारण पनि सिङ्गर र प्लेयर बन्ने इच्छा उनीमा पहिलेदेखि नै थियो।
उनले काठमाडौँ आएपछि श्री सङ्गीत पाठशालामा म्यूजिक क्लास लिए र एक–दुईवटा गीत रेकर्ड पनि पनि भ्याए। उनी भन्छन्, ‘तर, आफ्नो भोकलको समस्याले गीत गाउन गाह्रो भयो। स्वर भासिने र दबिने समस्या आउन थाल्यो। निरन्तर गीत गाउँदा आवाज गुमाउने डरले मैले यसलाई निरन्तरता दिन सकिनँ।’
मिलन सानैदेखि गीत गाउने, टीभीमा कलाकारहरूको अन्तरवार्ता हेर्ने र फिल्म हेरेर एक्टिङ गर्ने गर्दथे। ‘म्यूजिक सिक्ने क्रममा आर्जेस दाइसँग भेट भयो,’ उनी भन्छन्, ‘अरु धेरै कलाकार साथीहरुले प्रेरणा दिने काम गर्नु भयो।’
आर्जेसले मिलनलार्इ ड्रामा हेर्न बोलाएछन्। त्यहाँका मानिस देखेर आफूले अर्गानिक कुरा फिल गरेको उनी सम्झन्छन्। ठूला व्यक्तिको सङ्गत गर्न मन पराउने उनले थिएटर जोइन गरे।
थिएटर जोइनपछि शुरुमा आफूलाई नचिनेको, नजानेको र नबुझेको फिल भएको अनुभव उनले सुनाए। सो क्रममा उनले मण्डला थिएटरमा ३ महिनाको कोर्षसमेत गरे।
र, नाटकको यात्रामा...
मिलनले विसं २०७१ सालबाट मण्डला थिएटरमै काम शुरु गरे। पहिलो नाटक बैतर्णी क्याफे, माइलो, त्यसपछि सिरू महारानी नाटकमा अग्रज कलाकार दयाहाङ राई, नाजिर हुसेन र बुद्धि तामाङसँग अभियन गर्दा खुशी लागेको उनी बताउँछन्।
शुरुमा उनले जुनियर पात्रमा काम गरे। ती दिन सम्झँदै मिलन भन्छन्, ‘शुरुमा एकदमै डर लाग्यो। यतिबेलासम्म मैले नाटक क्षेत्रलाई बुझेको थिइनँ।’ उनले ‘सिरू महारानी’ नाटकमा धेरै मेहनत गरेको बताए। त्यसपछि ‘रमाइलो छ’मा गरे।
आफूले धेरै राम्रो मेहनत गरेको र आफूलाई चिनाएको नाटक ‘लाटीको छोरो’मा मिलनले लाटोको भूमिका निभाएको थिए। आफूलाई सबैमाझ चिनाएको ‘लाटीको छोरो’ नाटक गर्दा आफूले स्टेजमा चोट लागेर रगत बगेको उनी सुनाउँछन्।
यसपछि उनले ‘मसानटार’मा सुलसुलेको क्यारेक्टर गरेका थिए। जुनसुकै अभिनय गर्दा पनि इमानदारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्ने मिलनले नाटकबाट धेरै अनुभव बटुलेका छन्। उनी नयाँ नाटकको तयारीमा लागेका छन्। हाल मिलन मण्डलामा प्रोडक्सनको काममा सहयोग गरिरहेका छन्।
‘नाटक क्षेत्रको काम एकदमै गाह्रो छ। पैसाको हिसाबले नाटकमा खाजा खान पनि पुग्दैन,’ उनी भन्छन्, ‘पहिलो सबैभन्दा बढी १५ हजार रुपैयाँ तलब पाए। कति काम त पैसाविना पनि गरेँ। तर, अहिले पहिलाको तुलनामा सुधार आएको छ। थोरै भए पनि खर्च दिने प्राक्टिस भएको छ।’