पोखरा– प्रजातन्त्रवादी प्राध्यापक सङ्घ वन विज्ञान अध्ययन संस्थान एकाइले पूर्णकालीन क्याम्पस प्रमुख नियुक्ति गर्न माग गरेको छ। वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा विगत दुई वर्षदेखि रिक्त पूर्णकालीन क्याम्पस प्रमुखको नियुक्तिलाई अड्काएर अधिकारको दुरुपयोग गर्दै मनोमानीरुपमा तीन/तीन महिने क्याम्पस प्रमुख नियुक्ति गरिँदा क्याम्पसको समग्र शैक्षिक वातावरणमा नै असर पुगिरहेको भन्दै सङ्घले उक्त माग गरेको हो।
क्याम्पसको प्राज्ञिक गरिमालाई उच्च बनाउन राजनीतिक आस्था र व्यक्तिगत स्वार्थबाट माथि उठेर विधि र प्रक्रिया सङ्गतरुपमा विषय विज्ञता, वरिष्ठता, प्रशासनिक दक्षताजस्ता कुरालाई ख्याल गर्दै तत्कालीन पूर्णकालीन क्याम्पस प्रमुख नियुक्त गर्न आफूहरूले माग गरेको सङ्घका सभापति राजन सुवेदीले जानकारी दिएका छन्।
उपकुलपति स्वयंले गरेको १५ बुँदे प्रतिबद्धताका साथै विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्स बनाउने उद्देश्य पूरा गर्नको निम्ति राजनीतिक आस्था र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सङ्घले आग्रह गरेको छ। रासस