काठमाडौं– काठमाडौँको उत्तरी क्षेत्रस्थित टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरिएको छ। टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक– सरकारी विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवाखाजा खुवाउने नीतिअनुसार आइतबारदेखि ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरेको हो।
बौडेश्वर माध्यमिक विद्यालय झोरबाट शुरु भएको उक्त कार्यक्रम टोखाका आठवटै सामुदायिक विद्यालयमा शुरु गरिएको छ। टोखाभित्र झोर महाँकाल माध्यमिक विद्यालय–मावि, बौडेश्वर मावि, चण्डेश्वरी मावि, धापासी मावि, तिलिङ्गाटार मावि, सरस्वती मावि, जालपा मावि र मनोहर मावि रहेका छन्। उक्त सामुदायिक विद्यालयमा चार हजार ३०६ विद्यार्थी अध्ययनरत छन्।
शुभारम्भ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ‘मेयर दिवा खाजा कार्यक्रम’ सञ्चालन गरेको बताएका छन्। ‘पछिल्लो समय सरकारी विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दो क्रममा रहेको छ, त्यसलाई बढाउनका लागि हामीले उक्त कार्यक्रम सञ्चालनमा ल्याएका हौँ’, उनले भने।
टोखा नगरपालिका शिक्षा शाखाका प्रमुख, उपसचिव बाबुराम गौतम ‘मेयर दिवा खाजा कार्यक्रम’का लागि नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा रु ७५ लाख बजेट विनियोजन गरेको जानकारी दिएका छन्। ‘दैनिक एक विद्यार्थी बराबर रु २५ को खाजा वितरण गर्न लागेका छौँ’, उनले भने।
दिवा खाजाका लागि नगरपालिकाले छुटाएको बजेट अपुग भएपछि थप्दै लैजाने गौतमको भनाइ छ। टोखा नगरपालिकामा हाल आठ सामुदायिक विद्यालय, ८१ निजी विद्यालय, तीन वैकल्पिक मावि र ३५ मन्टेश्वरी विद्यालय सञ्चालनमा छन्। रासस