काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी २५ जेठमा हुने महाधिवेशनमा ४ हजार पाँच सय प्रतिनिधि सहभागी हुने छन्। राप्रपाको संशोधित विधान अनुसार यसपटकको महाधिवेशन सकृय सदस्यताको आधारमा हुनेछ।
न्युनतम सकृय सदस्यता नभएका गाउँ, नगर, क्षेत्र र जिल्लाबाट महाधिवेशन प्रतिनिधि बन्न नसक्ने प्रावधानमा उल्लेख छ।
गाउँपालिका, नगर, उपमहानगर, महानगर, प्रदेश, संघ र जिल्ला अध्यक्ष महाधिवेशनमा स्वतः प्रतिनिधि हुने र प्रत्येक प्रदेश क्षेत्र निर्वाचन समितिबाट ८ जनाको दरले महाधिवेशन प्रतिनिधि हुनेछन्।
८ जनामा अनिवार्य २ महिला, १ उत्पीडित, २ जना आदिवासी जनजाति, पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारु, मधेसीबाट र ३ जना अन्यबाट गरी प्रतिनिधित्व रहने छ।
केन्द्रीय सचिवालय, निर्वाचन समिति, संगठन, आर्थिक र सूचना–प्रविधि विभागको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले चुस्त, व्यवस्थित र प्रभावकारी महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिए।