काठमाडौँ, २९ माघ – स्वदेशी तथा विदेशी साहित्य दुवै अध्ययन गर्न रुचाउने नायिका ऋचा शर्मा र सुरक्षा पन्त बजारमा आएका सबै पुस्तक पढ्ने बताउँछन्। मङ्गलबार राजधानीमा आयोजित निश्चल मल्लको ‘फर्गो’ पुस्तक विमोचन समारोहमा उनीहरू अतिथिका रूपमा उपस्थित भएका थिए। पुस्तकमा शब्द चयन महत्त्वपूर्ण हुने भनाइ राख्छन् उनीहरू।
ऋचा भन्छिन्, ‘म पुस्तकसँग बढी नै समय बिताउने गर्छु। स्वदेशी र विदेशी साहित्य प्रायः छुटाउँदिनँ। तर, कति पुस्तक एक पाना पढेपछि दिक्क लाग्छ। कुनै भने जति पढे पनि अघाइन्न। लेखकको शब्द चयनले नै पुस्तक सशक्त हुने हो।
मलाई भने पुस्तक पढ्न र भन्न मात्र आउँछ, लेख्न आउँदैन।’ उनी आफूलाई धेरैले पुस्तक लेख्न सुझाएको पनि बताउँछिन्। तर, उनलाई शब्द चयन गर्न नै कठिन लाग्छ। भविष्यमा पुस्तक लेख्न कसैबाट प्रोत्साहन मिले प्रयास गर्ने उनको भनाइ छ। उनले आफूलाई निश्चलको ‘फर्गो’ पुस्तक अत्यधिक मन परेको र युवापुस्ताले छुटाउन नहुने बताइन्।
त्यस्तै नायिका सुरक्षा पुस्तक छनोटमा आफू चुजी रहेको बताउँछिन्। ‘फर्गो’ पुस्तक विमोचन कार्यक्रममा आफ्नो विचार राख्दै उनले भनिन्, ‘म पुस्तक पढिहाल्ने मान्छे त होइन तर प्रायः फुर्सदको समयमा पढ्ने गरेकी छु।
अरूले दुनियाँलाई कसरी हेर्दा र सोच्दा रहेछन् भनेर पनि पुस्तक पढ्ने गर्छु।’ पुस्तक लेख्ने युवासँग आफू चाँडै आकर्षित हुने गरेको पनि उनले बताइन्। उनले आफूले पुस्तक लेख्नेबारेमा भने नसोचेको बताइन्। ‘फर्गो’ पुस्तक विमोेचनमा चर्चित युवा लेखक सुविन भट्टराई पनि उपस्थित थिए। उक्त पुस्तक लेखक मल्लले २ वर्षको मेहनतपछि प्रकाशन गरेका हुन्।