काठमाडौं– गैरसरकारी विधेयक आज (सोमबार) संसदमा दर्ता हुँदैछ। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको विधेयक शाखामा पूर्व कानूनमन्त्रीसमेत रहेका सांसद शेरबहादुर तामाङले उक्त विधेयक दर्ता गर्न लागेका हुन्।
तामाङले पेश गर्न लागेको उक्त विधेयक संविधान जारी भएपछिकै पहिलाे गैर सरकारी विधेयक हो। संसदमा सामान्यतयाः सरकारले नै विधेयकहरु ल्याउने प्रावधान भए पनि सांसदहरुलाई सोझै विधेयक ल्याउने अधिकार पनि हुन्छ। सोही अधिकारलाई प्रयोग गर्दै गाँजा खेतीको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक ल्याउन लागेका हुन्।
हाल नेपालमा गाँजा खेती र कारोबार प्रतिबन्धित छ। नेपालमा प्रतिबन्धित गाँजा अन्य विभिन्न देशहरुमा भने कानूनी रुपमा खरिदबिक्री हुन्छ। गाँजामा ४०० भन्दा बढी तत्त्व पाइन्छन् जुन क्यान्सर लगायतका विभिन्न रोगहरुको उपचारमा समेत प्रयोग हुन्छ। त्यसैकारण यसलाई खुला गर्न र त्यसको नियमन र व्यवस्थापन गर्न यस्तो विधेयक ल्याउनुपरेको सांसद तामाङको भनाई छ।
संसदमा गैरसरकारी विधेयक विरलै मात्र आउँछ। यसअघि सांसद विजय सुब्बाले आईएलओ सम्बधी विधेयक संसदमा प्रस्तुत गरेका थिए जसलाई पछि सरकारी विधेयकको मान्यता दिएको थियो। सो विधेयकपछि हालसम्म अन्य दुईओटा विधेयक आएका थिए। आज प्रस्तुत गर्न लागिएको विधेयक चौथो गैरसरकारी विधेयक भएको सांसद तामाङले बताए।