काठमाडाैं– आइतबार राष्ट्रियसभा गृहमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरेर भएको जुत्ता प्रहारको घटनाबारे छानविन हुने भएकाे छ। घटनाबारे छानविनका लागि एक जना प्रहरी वरिष्ठ अधिकृतको नेतृत्वमा समिति गठन गरिएकाे छ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाको नेतृत्वमा गठित तीन सदस्यीय समितिमा महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिम्सिना रहेका छन्।
समितिले प्रकरणबारे छानबिन सकेर तीन दिनभित्र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा प्रतिवेदन बुझाउनेछ। घटनामा संलग्न जुम्लाका रतन तिरुवा आइतबार नै पक्राउ परेका थिए। उनले वर्ग संघर्षबारे दिएको भाषणमा चित्त नबुझेकाेले जुत्ता हानेकाे बयान दिएका थिए।