काठमाडौं– अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्थमन्त्री डा युवराज खतिवडा अस्पताल पुगेका छन्।
आजबाट राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएका अर्थमन्त्री डा खतिवडा आज बिहान डायलासिस गरेका प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन्।
प्रधानमन्त्रीसँग भेटका लागि गएका अर्थमन्त्री डा खतिवडालाई सञ्चारकर्मीले मन्त्री पद र राष्ट्रिय सभा सदस्यबारे जिज्ञासा राखेका थिए। उनले अझै एक दिन कुर्नुस थाहा भइहाल्छ भन्ने जवाफ दिए।
राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए। नेम्वाङले संवैधानिक प्रावधान अनुसार खतिवडालाई राजीनामा लगत्तै अर्थमन्त्रीमा पुनः नियुक्त गर्न लागिएको जनाए।