काठमाडौँ, १ फागुन – माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र यस वर्षदेखि प्रदेशगत रूपमा तयार हुँदै छन्। प्रदेशअनुसार फरक–फरक प्रश्नपत्र तयार गरी ७२ सुरक्षाकर्मीको तीन घेरामा जनक शिक्षा सामग्री केन्द्रमा छपाइ गर्ने तयारी रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।
६ वटा अनिवार्य विषयमा प्रदेशस्तरीय प्रश्नपत्र हुने भए पनि ऐच्छिक विषयमा भने विद्यार्थी कम हुने भएकाले एउटै प्रश्नपत्र बनाइनेछ। १० चैतबाट सञ्चालन हुने परीक्षाका लागि ३ फागुनदेखि प्रश्नपत्र छपाइ सुरु गर्ने तयारी छ।
शिक्षा मन्त्रालयका सचिव तथा राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्ष खगराज बरालका अनुसार पहिलो घेरामा नेपाली सेना, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाल प्रहरी राखेर प्रश्नपत्र छपाइ गरिनेछ। सेना २७, सशस्त्र प्रहरी ३० र नेपाल प्रहरीका १५ सुरक्षाकर्मी प्रश्नपत्रको सुरक्षामा खटिने भएका छन।