काठमाडौं– कोरोना भाइरसको त्रास विश्वभर फैलिरहेको वेला बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउनेविरुद्ध गृह मन्त्रालयले अनुगमन तीव्र पार्ने भएको छ।
माक्स लगायत दैनिक अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने पनि मन्त्रायले निर्णय गरेको छ। गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बैठकले यस्ताे निर्णय गरेकाे हाे।
थापाले बैठकमा सीमा नाकामा आवतजावत गर्नेमाथि सुरक्षाकर्मीबाट थप निगरानी बढाउन पनि निर्देशन दिएका छन्। बैठकमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा लगायत उपस्थित थिए।
बैठकले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समितिसँग समन्वय गरेर काम गर्ने पनि निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए। उनका अनुसार कोरोनाको प्रभाव न्यूीनकरणका लागि तयारी अवस्थामा रहन पनि सुरक्षा संयन्त्रलाई गृहमन्त्री बादलले निर्देशन दिएका छन्।