गलकोट– समय अभाव तथा रोजगारीको सिलसिलामा नेपालमै भएर उच्च शिक्षा अध्ययन गर्न रोकिएका विद्यार्थीलाई खुला विश्वविद्यालय अवसरको रुपमा रहेको एक कार्यक्रमका सहभागीले बताएका छन्।
नेपाल खुला विश्वविद्यालय ललितपुरले शनिबार बागलुङ बजारमा आयोजना गरेको अन्तरक्रियामा दुर्गम ठाउँ र व्यस्त विद्यार्थी, शिक्षक र प्राध्यापकका लागि उपयुक्त विकल्प र अवसरका रूपमा खुला विश्वविद्यालय रहेको सहभागीको भनाइ थियो।
क्याम्पसमा प्राध्यापनमा रहनु पर्दा शैक्षिक दक्षता हासिल गर्नबाट बञ्चित रहेको, दुर्गम र समय अभावमा काठमाडौँमै पुगेर स्नातकोत्तर, एमफिएललगायतका उच्च शिक्षा लिन बञ्चित भएका शिक्षक, प्राध्यापकले घरमै बसेर अध्यापन गर्ने गरी स्थापना भएको खुला विश्वविद्यालयले दुर्गमता तोड्ने उनीहरुको भनाइ छ।
विसं २०७३ मा स्थापना भएको नेपाल खुला विश्वविद्यालयमा इन्टरनेटमा रहेको भिडियो कलका माध्यमद्वारा घरमै बसेर अध्ययन गर्न सकिनेछ।
खुला विश्वविद्यालयले व्यस्तता तथा दुर्गममा बसेर थप उच्च शिक्षा हासिल गर्ने सोच र सपना अहिले पूरा गर्न लागेको धवलागिरि क्याम्पसका उपप्राध्यापक तथा खुला विश्वविद्यालयमा एमफिएलका तेस्रो सेमेष्टरमा अध्ययनरत बलराम शर्माले जानकारी दिए।
कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय सदस्य तथा भीमसेन क्याम्पसका उपप्राध्यापक डिल्लीराज उपाध्यायले बढ्दो व्यस्तता, समयको यथोचित व्यवस्थापन र प्रविधिको असली उपयोगले जीवनका गतिविधि सहज हुने बताएका छन्।
खुला शिक्षा प्रणालीका नवीनतम शिक्षण विधि तथा प्रविधिको माध्यमबाट विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धानको व्यवस्था गरी उच्च शिक्षामा सर्वसाधारणको सहज पहुँच पु¥याई ज्ञान, सीप र प्रविधियुक्त जनशक्ति उत्पादनका लागि सरकारीस्तरबाटै खुला विश्वविद्यालय स्थापना गरिएको रजिष्ट्रार कमलप्रसाद ढकालले जानकारी दिए।
खुला विश्वविद्यालयले हाल प्राज्ञिक, अनुसन्धानमूलक तथा पेशागत विकाससम्बन्धी २२ विभिन्न तह र विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको अन्तक्र्रिया कार्यक्रममा बताइएको थियो।
कार्यक्रममा बागलुङ, म्याग्दी तथा पर्वतका विभिन्न क्याम्पसमा प्राध्यापनरत ३० प्राध्यापकको सहभागिता थियो। धवलागिरि बहुमुखी क्याम्पसका प्रा डा दिनबहादुर थापाले गुणस्तरीय शिक्षा र निरन्तर अध्ययनका लागि प्रविधिमैत्री खुला विश्वविद्यालयको भविष्यमा विकल्प नरहेको बताएका छन्।
विश्वविद्यालयले विभिन्न सङ्कायअन्तर्गत पेशागत डिप्लोमा, स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधिका कार्यक्रम विकास गरिरहेको खुला विश्वविद्यालयका शिक्षा विभागका प्रा. डा. जीवन खड्काले जानकारी दिए।
‘दुर्गमका विद्यालय, क्याम्पसमा अध्यापनरत तथा जागिरे जीवनका कारण प्राज्ञिक ज्ञान, अनुसन्धानमूलक र पेशागत विकासबाट बञ्चित भएकालाई खुला विश्वविद्यालयले सहज बनाएको छ’, खड्काले भने, ‘खुला विश्वविद्यालयले दुर्गम गाउँलाई विश्वविद्यालयको शिक्षासँग जोड्दै आएको छ। खुला विश्वविद्यालयको पहिलो ब्याचमै बागलुङबाट १० प्राध्यापक भर्ना भएर अध्ययन गरिरहेका छन्। खुला विश्वविद्यालयमा हाल एक हजार २०८ विद्यार्थी अध्ययनरत छन्। (रासस)