काठमाडौँ, १ फागुन– अहिले चलचित्र निर्देशक र निर्माताबीच चलचित्रको विषयवस्तुलाई लिएर विवाद हुन थालेको छ। तर, टिमभित्रको किचलो बाहिर आए त्यसको प्रत्यक्ष प्रभाव चलचित्रमा पर्ने हुँदा सकभर चलचित्र रिलिज अगाडिसम्म उनीहरु मौन बस्नुमा नै उचित मान्छन्। तर, जब चलचित्र रिलिज हुन्छ अनि सुरु हुन्छ एकअर्काप्रति आरोप–प्रत्यारोप।
अहिले भर्खरै रिलजिभएको चलचित्र ‘रणवीर’ टिमभित्र पनि यस्तै किचलो सुरु भएको छ। चलचित्र बक्सअफिसमा डिजास्टर साबित भएपछि निर्माता र निर्देशकबीच ‘पानी बारबार’ भएको हो।चलचित्र रिलिज अगाडि निर्देशक गोविन्दसिंह भण्डारी प्रचार–प्रसारमा नहिँड्दा नै निर्मातासँग उनको सम्बन्ध चिसिएको चर्चा चलेको थियो। चलचित्र ‘रणवीर’ माघ १८ गते प्रदर्शनमा आएको हो। चलचित्रमा शुशील सिटौला, सुवेक्षा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकारलगायतको अभिनय थियो।
चलचित्र रिलिजपछि भने टिमभित्रको किचलो छताछुल्ल भएको छ। हालै एक साप्ताहिकसँग कुराकानी गर्दै निर्मात्री गोमा विष्ट थापाले निर्देशक भण्डारीमाथि गम्भीर आरोप लगाएकी छन्। उनले निर्देशकका कारण चलचित्र सोचेजस्तो सफल हुन नसकेको ठोकुवा गरेकी हुन्। उनले निर्देशकले बजेटमा मनोमानी गरेको आरोप समेत लगाइन्।
विष्टे भनिन्, ‘५० दिनमा सक्नुपर्ने सुटिङ ९५ दिनमा लागो ८० लाखमा चलचित्र रेडी गर्दिन्छु भनेर वचन दिनुभएको थियो। तर, ढाई करोड लाग्यो। यसको जवाफ निर्देशकले दिनु पर्छ कि पर्दैन?’ निर्देशक भण्डारी जस्ता निर्देशकका कारण सोझा—सिधा निर्माता फस्ने गरेको उनी बताउँछिन्।
उनले आफूले निर्देशक भण्डारीलाई सुटिङ सेटबाटै निकाल्न खोजेता पनि निर्माता दिपेन्द्र रेग्मीका कारण चुप बसेको बताइन्। उनले थपिन् ‘उहाँको कामबाट हामी एकदमै आजित भएका थियौं। टेक्निसियनदेखी कलाकारसम्म आफैंले छान्ने अनि बजेटमा मनोमानी गर्ने। म जस्ता निर्माता कसरी ठगिँदा रहेछन् भन्ने बल्ल बुझेँ।’ निर्देशकले समयमा चलचित्र तयार नगरेको कारण आफू ठूलो ऋणमा डुबेको उनले बताइन। चलचित्रको ‘वर्ड अफ माउथ’ राम्रो भए पनि दर्शकको साथ भने पाउन सकेन।