काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार चालु शैक्षिक सत्रको अन्तिम परीक्षा आजबाट सुरु हुँदैछ। मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) फैलन सक्ने भन्दै चैत ५ गतेभित्र कक्षा १–९ सम्मको परीक्षा लिइसक्न निर्देशन दिएको छ।
आधारभूत तह कक्षा ८ को परीक्षा पालिका अन्तर्गत लिइनेछ भने, अन्य कक्षाहरुको भने विद्यालयले आफूअनुकुल लिनेछन्। त्यसलगतै चैत ६ देखी १६ गतेसम्म माध्यमिक विद्यालय परीक्षा (एसईई) हुनेछ। मन्त्रालयले निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन), नेशनल प्याब्सन, अभिभावक महासंघ, शिक्षक महासंघलगायत सरोकारवाला पक्षसित छलफल गरी परीक्षा अगाडी सार्न निर्देशन दिएको थियो।
उक्त निर्देशनलाई विद्यालयहरुले सहज ढंगले कार्यन्वयन प्रक्रिया अघि बढाएको शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले बताए। कोरोना भाईरस सम्बन्धी सचेतना र सतर्कता सम्बन्धी काम भईरहेको र शैक्षिकसत्रको तालिका अनुसार विगतभन्दा एक साताअघि परीक्षा संचालन हुन गइरहेको थापाले बताएका छन्।
परीक्षालगत्तै काठमाडौंबाट कम्तीमा १० लाख जनसंख्या गाउँघरतर्फ फर्किएलान् र जनजीवन सामान्य बन्ला’, प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले बताए। नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाको भनाइ अनुसार आम मानिसमा भाईरसको संक्रमणमात्र नभई कोरोनाको त्रास बढेको बताए। शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले पालिकाहरुको समन्वयनमा विद्यालयहरुले आफ्नो अनुकूल अनुसार परीक्षा लिने बताए। (कान्तिपुर पत्रिकाबाट साभार )