काठमाडौँ, १ फागुन –
–आधुनिक गीतमा सर्वोत्कृष्ट नवगायिका अवार्ड
–सर्वोत्कृष्ट नवगायिका पपआधुनिकतर्फ सगरमाथा म्यूजिक अवार्ड–२०७५
–नेशनल इपिक नेपाल म्यूजिक अवार्ड–२०७५, उत्कृष्ट पपगायिका जुरी अवार्ड
गायिका इन्दिरा भट्टराईले पछिल्लो ६ महिनामा प्राप्त गरेका यी तीन उत्कृष्ट अवार्ड हुन्। तर, इन्दिराले यो सफलताका लागि सामान्य साधना गरेकी छैनन्, सामान्य त्याग गरेकी छैनन्। उनको कठोर तपस्याले नै यो सफलता हासिल भएको हो।
‘साधना बहुतै गरेकी छु, नेपाली सांगीतिक क्षेत्रमा यो सफलताका लागि धेरै रातहरु नुनिला आँशु पिएर बिताएकी छु,’ भट्टराई कुराकानीको सुरुआत गर्दै भनिन्।
बुधबार यूएईमा आयोजना हुने सांगीतिक कार्यक्रममा जान लागेकी गायिका भट्टराई नेपाली सांगीतिक क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै गुणात्मक कामलाई अबको पुस्ताले जोड दिनु पर्ने धारणा राखिन्।
सुदूरपूर्वको पहाडी जिल्ला तेह्रथुममा जन्मिएकी इन्दिरा भट्टराई नेपाली संगीत क्षेत्रकी यस्ती एक नक्षत्र हुन्, जसले मेचीदेखि महाकालीसम्मका गीति सिर्जनाहरुमा आफ्नो आवाज दिइसकेकी छिन्। सांगीतिक जीवन देउडाबाट गरेकी इन्दिराको प्रेरक संगीतयात्रा डेढ दर्शकदेखि यसरी नै अघि बढिरहेको छ।
गायिका इन्दिरा भट्टराईको जन्म विसं २०३८ साल असोज १२ गते भएको हो। आमा झलमाया भट्टराई र बुबा बाशुदेव भट्टराईको कान्छी छोरी हुन् इन्दिरा। गायिका इन्दिराका ३ जना दिदी र ३ जना भाइहरू छन्।
संगीतप्रति लगाव भएको पारिवारिक माहोलले पनि हुर्किंदै–बढ्दै जाँदा इन्दिराले यही क्षेत्र रोज्न पुगिन्। ‘मेरा कान्छो भाइ रूपेश भट्टराई पूर्वमा निकै लोकप्रिय बाँसुरी बाधकका रूपमा चिनिएको थियो, मलाई पनि सानैदेखि गीत–संगीतमा रुचि भएकाले यही फिल्डमा समर्पित भएर लागेँ,’ इन्दिराले भनिन्।
गायिका इन्दिरा भट्टराईले प्रारम्भिक शिक्षा तेह्रथुमको जलजलेस्थित शंकर उच्च माविबाट गरेकी हुन्। र, उनले एसएलसी पनि त्यहीँ विद्यालयबाट पास गरिन्। विसं २०५६ सालमा उच्च शिक्षा हासिल गर्ने शिलशिलामा उनी काठमाडौं आइन्। काठमाडौं आएर उनले पद्मकन्या क्याम्पस बागबजारबाट प्रवेशिका प्रमाणपत्र तह आइए उत्तीर्ण गरिन्।
अध्ययन र कला यात्रा
आइएको परीक्षा दिएपछि इन्दिरा भट्टराईको नयाँ यात्रा प्रारम्भ भयो। उनका पाइला राष्ट्रिय नाचघरतर्फ अघि बढे। उनले एक वर्षका लागि छात्रवृतिमा संगीत सिक्ने अवसर प्राप्त गरिन्।
इन्दिराले विसं २०५७/०५८ मा लोकगीत र आधुनिक गीत दुवैमा स्वर परीक्षा पास गरेर रेडियो नेपालमा गायनको अवसर प्राप्त गरिन्।
त्यसपछि उनले इलाहवाद विश्वविद्यालयबाट संगीतमा स्नातक तह पूरा गरिन्। ‘उक्त कोर्ष ६ वर्षसम्म पढ्नुपर्छ, मैले त्यतिबेला निकै मिहेनत गरेकी थिएँ,’ उनले भनिन्। त्यसपछि ललितकला साथै केही समय पत्रकारिता पेशामा संलग्न रहेपनि इन्दिराले निरन्तरता दिन सकिनन्।
बाल्यावस्थामै सांगीतिक क्षेत्रमा
मर्निङ सोज दी डे भनेझैं इन्दिरा बाल्यावस्थामै संगीतको माहोलमा रमाउने गर्थिन्। उनले भविष्यको यात्रा पनि त्यही मार्गमा अघि बढाइरहेकी छिन्।
सानैदेखि संगीतमा होमिएकी इन्दिराको परिवारबाट उनले यो क्षेत्रमा लाग्ने प्रेरणा प्राप्त गरिन्। सांगीतिक शिक्षा बिना उनले गाउँघर तथा विद्यालयमा हुने सांगीतिक कार्यक्रममा प्रशंसनीय प्रस्तुति दिने गर्थिन्।
त्यति बेला नै मादल, तबला, तानपुरा आदि बजाउन सिकिसकेकी थिइन्। अभिभावकसँगै विद्यालयका शिक्षकहरुले पनि इन्दिरालाई संगीतमा लाग्न प्रेरित गरेको उनी बताउँछिन्।
जब स्टेजमा पढिन्...
इन्दिरा भट्टराई तीन वर्षको उमेरमा पहिलो पटक स्टेजमा चढेकी थिइन्। बाला चतुर्दशीको दिन आयोजना गरिएको विद्यालयस्तरको कार्यक्रममा स्टेजमा नृत्य गर्दा उनी प्रथम भएकी थिइन्।
यो उनको सांगीतिक जीवनको पहिलो पुरस्कार थियो। उनले पहिलो पुरस्कार स्वरूप थाल, गिलास र प्रमाणपत्र प्राप्त गरेकी थिइन्।
र, देउडा गाएँ...
मध्यम् वर्गीय परिवारमा हुर्किएकी इन्दिराले जीवनमा अनेकौँ संघर्ष गर्दै सांगीतिक यात्रा अघि बढाइरहेकी छिन्। उनको व्यावासायिक सांगीतिक यात्रा देउडा गीतबाट शुरू भएको हो। सुदूरपश्चिममा लोकप्रिय देउडा गीतबाट शुरु भएको उनको संगीत यात्रा विभिन्न भाषाभाषीका गीत गाउँदै अघि बढिरहेको छ।
इन्दिराले धनराज रेग्मीको शब्द संकलनमा ७ वटा देउडा गीतहरू रेकड गरेकी थिइन्। ‘गैरी खेतकी रोपाई’ उनको पहिलो देउडा भाकाका गीतहरुको संकलन हो। त्यसपछि हजारी माला, रूनी रूनी छाडी गइछे रून्छु धर धर भन्ने गीत गाइन्, जुन सुदूरपश्चिमका संगीतप्रेमीमाझ लोकप्रिय छ।
देवी गौतमको स्वर तथा लयमा इन्दिराले गाएका गीतहरुको एल्बम् लेकबेँसीका सुसेलीले उनलाई पूर्वमा गायिकाको रुपमा स्थापित गर्यो। त्यसैगरी, कृष्णभक्त राईको स्वर तथा संगीतमा तीज विशेष एल्वम् चेलीको व्यथाले उनलाई नयाँ उचाईमा पुर्यायो।
काठमाडौंमा माइक्रोबस सञ्चालनको थालनी भएका बेला इन्दिराले भूपेन्द्र पराजुलीसँग ‘काठमाडौंको माइक्रो बसैमा’ भन्ने दोहोरी गीतमा स्वर दिएकी थिइन्। उनी क्लासिकल सिंगर भएकाले सहजै सबै भाषाको गीतहरू गाउँन सक्छिन्। अहिले उनको एक्सिडेन्ट भयो न्यूरोडमा गीत चर्चामा छ।
उनी भन्छिन्, ‘संगीतकर्मीको जीवनमा धेरै कठिनाईहरु छन्। कलाकार भनेर चिनाउन ठूलै संघर्ष गर्नुपर्छ। पहिला एल्बम् बिक्री हुन्थ्यो, र त्यसबाट उठेको पैसाले एल्बम् निकाल्न सहज हुन्थ्यो।तर, अहिले त रेकडिङको सम्पूर्ण खर्च आफैँ व्यहोर्नु पर्छ।’
इन्दिराका अनुसार अहिले भिडियोबिना गीत चल्दैन। राम्रो गीतको पनि लगानी उठाउन मुश्किल छ। त्यसैले संगीतकर्मीको व्यवस्थापन तथा सिर्जनालाई प्रवर्द्धनको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको धारणा छ।
इन्दिराले भनिन्, ‘अहिले पहिलेजस्तो जमाना छैन। यूट्युबले गर्दा गीत सुन्न त सहज बनाएको छ। तर, श्रष्टाहरुलाई त्यति नै समस्या पनि छ। जुन गीत यूट्युबमा धेरै भ्यूज आउँछ, र ट्रेन्डिङमा पर्छ, त्यसैलाई सफल भएको मानिन्छ।’
दर्शक तथा श्रोताहरूले एउटी आदर्श नारी, उद्यमी महिला साथै सुमधुर स्वरकी धनी भनेर सम्झिँदा उनलाई जस्तै कठिन परिस्थितिमा पनि अघि बढ्न साहस आउँछ, त्यसैले पनि उनी निरन्तर संगीतको महासागरमा आफूलाई डुबुल्की मारिरहेकी छिन्।
विसं २०६८ सालमा उत्कृष्ट राष्ट्रिय महिला उद्यमी सम्मान प्राप्त गरेकी इन्दिरा भट्टराई नेपाली महिलाहरुलाई उद्यमशीलताको क्षेत्रमा लाग्न प्रेरित गर्दै आएकी छिन्। इन्दिराले वि।सं। २०५७ सालमा उपत्यकाव्यापी क्याम्पसस्तरीय संगीत प्रतियोगितामा दोश्रो हुँदै रानी ऐश्वर्यबाट पुरस्कृत भएकी थिइन्।
विश्व प्रसिद्ध डेनिस लेखक हेन्स क्रिस्टियन एण्डरशनको ‘जहाँ शब्दहरु फेल हुन्छन्, त्यहाँ संगीत बोल्छ’ भन्ने भनाईझैँ इन्दिरा भट्टराई पनि संघर्ष गर्दै संगीतबाट आफ्नो मनको व्यथालाई सफलताको कथामा परिणत गर्दैछिन्।