काठमाडौं– कसैलाई कोरोना भाइरस (कोभिड–१९) को शंका लागेमा आफैं क्वारेन्टाइनमा बस्न सरकारले अपिल गरेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानकर्षण पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखे जसरी नराख्ने बताएका हुन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफै क्वारेन्टाइनमा बस्न समेत आग्रह गरेका छन्।
ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने उनले बताए। साथै कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मा सरकारले लिने मन्त्री ढकालले बताएका छन्।
ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरिपाटी क्वारेन्टाइनमा राख्ने उनको भनाइ थियो। विभिन्न ८ मुलुकबाट आउने नागरिकलाई त्यहाँको चिकित्सकले बढीमा ७ दिन अगाडि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भएमात्रै नेपाल प्रवेश दिईने बताएको छ। १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउने उनले बताए।
युवा संघले सामाजिक सञ्जाल र विभिन्न आम सञ्चार माध्यमबाट अड्कलबाजीमा सूचना सम्प्रेषण भइरहेको सन्दर्भमा आधिकारिक सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ। संक्रमण भएमा उपचार गर्ने र अन्यमा फैलिन नदिने विधिबारे प्रचारप्रसार गर्न आवश्यक कदम चाल्न पनि सरकार संग आग्रह गरेको छ।
विमानस्थल, भारतीय सीमा नाकाहरुमा स्वास्थ्य जाँचको प्रभावकारी व्यवस्था गर्नुका साथै भाइरस संक्रमित देशबाट नेपाल आउने जो कोहीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थाले मात्रै संक्रमण नफैलने सुनिश्चिता गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटाले बताए।
सरकारले चीन, दक्षिण कोरिया, जापान, फ्रान्स जर्मन इटाली र इरान लगायतका मुलुकबाट नेपाल आउने यात्रुहरुलाई कडाई गरेको छ। नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिए पनि अस्पतालमा चेक गर्न जानेहरुको संख्या भने बढिरहेको छ।